जन आकाश
काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले हरित अर्थतन्त्रको विकाससँगै रोजगारीका नयाँ अवसर सिर्जना गर्ने उद्देश्यले ‘नेपाल ग्रिन जब्स मिसन’सम्बन्धी प्रतिवेदन तयार गरेको छ।
मन्त्रालयमा गठित कार्यदलले तयार पारेको प्रतिवेदन युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसमक्ष पेस गरिएको छ। मन्त्रालयका अनुसार प्रस्तावित मिसनले सबैका लागि हरित सीप तथा मर्यादित रोजगारीका अवसरमा पहुँच सुनिश्चित गर्दै आर्थिक रूपान्तरणको आधार तयार गर्ने लक्ष्य राखेको छ।
मिसनअन्तर्गत हरित सीप, उद्यमशीलता र लगानीयोग्य परियोजनालाई रोजगारीसँग जोडिनेछ। यसका आधारमा आगामी पाँच वर्षमा १ लाख ५० हजार हरित रोजगारी सिर्जना गर्ने लक्ष्य प्रस्ताव गरिएको छ।
हरित अर्थतन्त्रतर्फको रूपान्तरणसँगै रोजगारीका नयाँ क्षेत्र पहिचान गर्ने, युवालाई आवश्यक हरित सीप प्रदान गर्ने तथा प्राप्त सीपलाई उद्यमशीलता र लगानीसँग जोड्ने गरी मिसन अघि बढाउने प्रस्ताव गरिएको छ।
कार्यदलले तयार पारेको प्रतिवेदनले वातावरणमैत्री आर्थिक गतिविधिलाई रोजगारी सिर्जनासँग जोडेर युवाका लागि दीर्घकालीन तथा मर्यादित रोजगारीका अवसर विस्तार गर्न सकिने आधार प्रस्तुत गरेको छ।
मन्त्रालयका अनुसार मिसनले हरित सीपयुक्त जनशक्ति विकास, हरित उद्यमशीलताको प्रवर्द्धन तथा लगानीयोग्य परियोजनाको विकासमार्फत रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्नेछ।
यसका लागि सरकारी निकाय, निजी क्षेत्र तथा अन्य सरोकारवालाबीच समन्वय गरी हरित रोजगारीको आधार विस्तार गर्ने अवधारणा अघि सारिएको छ।
प्रस्तावित लक्ष्य कार्यान्वयनमा आए आगामी पाँच वर्षमा १ लाख ५० हजार युवाले हरित क्षेत्रमा रोजगारीको अवसर पाउने अपेक्षा मन्त्रालयले गरेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend