जन आकाश
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालकको पदावधि तीन वर्ष बनाउने प्रस्तावमा संघीय संसदको अर्थ समितिले सहमति जनाएको छ।
समितिको बिहीबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि भएको दफावार छलफलका क्रममा गभर्नर, डेपुटी गभर्नर र सञ्चालकको पदावधि तीन वर्ष कायम गर्ने व्यवस्था अघि बढाउने सहमति भएको हो।
समितिले सरकारले आवश्यक ठानेमा उनीहरूको पदावधि थप दुई वर्षसम्म बढाउन सक्ने व्यवस्था गर्नसमेत सहमति जनाएको छ। हाल राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर र सञ्चालकको पदावधि पाँच वर्ष रहेको छ।
राष्ट्र बैंक ऐन संशोधनका लागि तयार गरिएको प्रस्तावित मस्यौदामा भने गभर्नर, डेपुटी गभर्नर र सञ्चालकको पदावधि एक पटकका लागि थप गर्न सकिने व्यवस्था प्रस्ताव गरिएको थियो।
अर्थ समितिको दफावार छलफलबाट पारित भएको व्यवस्था अब संशोधित मस्यौदाका रूपमा संघीय संसदमा पेस हुनेछ। संसदबाट विधेयक पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि मात्रै गभर्नर, डेपुटी गभर्नर र सञ्चालकको पदावधिसम्बन्धी नयाँ व्यवस्था ऐनका रूपमा कार्यान्वयनमा आउनेछ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend