logo बिहिबार, भाद्र ४ २०८३ | Thursday 20th August 2026

सार्वजनिक संस्थानका कर्मचारीको तलब–भत्ता बढाउँदा अर्थ मन्त्रालयले तोक्यो चार सर्त


  • जन आकाश
  • बिहिबार, भाद्र ४ २०८३

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको साउन १ गतेदेखि लागू हुने गरी सार्वजनिक संस्थान, प्राधिकरण, बोर्ड, निगम तथा समितिका कर्मचारीको नयाँ तलबमान, ग्रेड र प्रोत्साहनभत्ता उपलब्ध गराउँदा चारवटा सर्त पालना गर्न निर्देशन दिएको छ।



अर्थमन्त्रीस्तरीय निर्णयअनुसार मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले सम्बन्धित निकायलाई नयाँ तलबमान र सुविधासम्बन्धी व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो।

मन्त्रिपरिषद्को साउन ६ गतेको निर्णयअनुसार साउन १ गतेदेखि लागू हुने तलबमानका आधारमा तह तथा पदअनुसार नयाँ तलबमान निर्धारण गर्न मन्त्रालयले भनेको छ।

त्यस्तै, प्रोत्साहनभत्ता प्रकृतिको सुविधा प्राप्त गर्दै आएका कर्मचारीको हकमा हाल कायम प्रोत्साहनभत्ताभन्दा कम हुने अवस्था भएमा कम भएको रकम बराबर मात्र भत्ता प्रदान गर्न निर्देशन दिइएको छ। कार्यसम्पादन सूचकका आधारमा दिइने प्रोत्साहनभत्ताको व्यवस्था पनि क्रमशः कार्यान्वयनमा लैजान मन्त्रालयले आग्रह गरेको छ।

नयाँ ग्रेड निर्धारण गर्दा हाल खाइपाई आएको ग्रेडभन्दा निजामती सेवामा लागू भएको नयाँ ग्रेडदर कम भएमा मात्र सोही बराबर हुने गरी ग्रेड निर्धारण गर्न भनिएको छ।

अर्थ मन्त्रालयको सहमतिबिना आर्थिक दायित्व सिर्जना हुने गरी अन्य कुनै किसिमका भत्ता तथा सुविधा वृद्धि नगर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।

मन्त्रालयले तलब, ग्रेड तथा प्रोत्साहनभत्ता कार्यान्वयन गर्दा यसअघि जारी गरिएका परिपत्र तथा निर्देशनलाई समेत ध्यानमा राख्न आग्रह गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend