जन आकाश
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा एमालेले आफ्नो पार्टीमा चलखेल गरेको आरोप लगाएका छन्।
बागमती प्रदेशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे राप्रपाको केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समिति बैठकपछि निर्णय सार्वजनिक गर्दै लिङ्देनले एमालेले सत्ताकेन्द्रित गतिविधिअन्तर्गत राप्रपाका सांसदहरूलाई प्रभावित पार्ने प्रयास गरेको बताएका हुन्।
बागमती प्रदेशमा राप्रपाका १२ सांसद छन्। सरकार गठनका लागि बहुमत जुटाउन एमाले र नेकपालाई राप्रपाका दुई सांसदको समर्थन आवश्यक पर्ने अवस्था थियो। सोही क्रममा राप्रपाका संसदीय दलका नेता उद्धव थापाले पार्टी केन्द्रको निर्देशनविपरीत एमाले सांसद किरण थापा मगरलाई मुख्यमन्त्रीमा समर्थन गर्दै पत्र दिएका थिए।
अध्यक्ष लिङ्देनका अनुसार एमाले र नेकपा नेतृत्वले राप्रपा नेतृत्वसँग औपचारिक रूपमा सहयोग माग्नुको सट्टा प्रदेश सांसदहरूलाई प्रभावित पार्ने प्रयास गरेको थियो।
‘एमालेले सत्ताकेन्द्रित गतिविधिमा विगतमा जस्तै दलहरूका बीचमा खेल्ने काम गर्थ्यो, त्यो अहिले पनि एमालेले गरेको स्पष्ट रूपमा आयो,’ लिङ्देनले भने, ‘किनभने एमालेले बागमती प्रदेश सरकार निर्माणका लागि औपचारिक रूपमा राप्रपासँग आग्रह, पत्र वा पार्टी कार्यालयमा आएर आग्रह पनि गरेको छैन।’
एमालेले राप्रपाका प्रदेशसभा सदस्यहरूलाई आफ्नो पक्षमा ल्याउने प्रयास गरेको दाबी गर्दै उनले त्यसको परिणाम पछिल्लो घटनाक्रमबाट देखिएको बताए।
‘प्रदेशसभा सदस्यहरूलाई हातमा लिने खालको प्रयास गरियो र त्यो परिणाम बाहिर आएको छ। यसमा चलखेल भन्ने स्पष्ट देखिन्छ,’ उनले भने।
पार्टीको निर्देशनविपरीत गतिविधि गरेको भन्दै राप्रपाले संसदीय दलका नेता उद्धव थापालाई कारबाही गरेको पनि लिङ्देनले जानकारी दिए। पार्टीको निर्णयविपरीत सरकारमा सहभागी हुने अन्य सांसदलाई समेत कारबाही गरिने उनले चेतावनी दिए।
‘अहिले संसदीय दल नेतालाई कारबाही गरिएको छ, अब जो–जो सरकारमा सहभागी हुन्छन्, उनीहरूलाई पनि कारबाही गरिन्छ,’ लिङ्देनले भने।
यद्यपि, बागमती प्रदेश सरकारमा राप्रपा तीन मन्त्रालयसहित सहभागी हुने तयारीमा रहेको बताइएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend