जन आकाश
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जीवित सबै पूर्वप्रधानमन्त्रीविरुद्ध उजुरी परेको खुलासा भएको छ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले सबै पूर्वप्रधानमन्त्रीविरुद्ध उजुरी आएको जानकारी दिएका हुन्।
‘पूर्वप्रधानमन्त्रीमाथि उजुरीको कुरा गर्नुभयो। सबैको उजुरी आएको छ, हेर्छौं,’ प्रमुख आयुक्त राईले भने।उनले उजुरीको विषयमा थप विवरण दिन भने अस्वीकार गरे। ‘योभन्दा बढी भन्न मिलेन,’ राईले भने, ‘उजुरीबारे हेर्दै छौं।’
हाल नेपालमा सात जना पूर्वप्रधानमन्त्री र एक जना पूर्वमन्त्रिपरिषद् अध्यक्ष जीवित छन्। जीवित पूर्वप्रधानमन्त्रीमा सुशीला कार्की, केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, डा. बाबुराम भट्टराई, माधवकुमार नेपाल र लोकेन्द्रबहादुर चन्द रहेका छन्। त्यस्तै, पूर्वमन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी पनि जीवित छन्।
अख्तियार प्रमुख राईका अनुसार उनीहरूविरुद्ध परेका उजुरीमाथि आयोगले आवश्यक अध्ययन तथा प्रक्रिया अघि बढाइरहेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend