logo शुक्रबार, भाद्र ५ २०८३ | Friday 21st August 2026

ट्रम्पले यसै वर्ष किम जोङउनसँग भेट्ने, नोभेम्बरमा शिखर वार्ताको सम्भावना


  • जन आकाश
  • बिहिबार, भाद्र ४ २०८३

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै वर्ष उत्तर कोरियाका नेता किम जोङ–उनसँग पुनः भेटवार्ता गर्ने बताएका छन्। ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले किमसँग प्रत्यक्ष संवाद गर्नु महत्वपूर्ण रहेको बताए। सम्भावित भेटको मिति र स्थान भने उनले खुलाएका छैनन्।



ट्रम्पका सहयोगीहरूले आगामी नोभेम्बरमा एसिया भ्रमणका क्रममा चीनको सेन्जेनमा हुने एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको आसपास किमसँग भेटवार्ता गराउने सम्भावना खोजिरहेको वाल स्ट्रिट जर्नललाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ। यद्यपि उक्त योजनाको स्वतन्त्र पुष्टि भने भएको छैन।

ट्रम्पले आफ्नो पहिलो कार्यकालमा किमसँग तीनपटक भेट गरेका थिए। सन् २०१८ मा सिंगापुर र सन् २०१९ मा हनोई तथा कोरियाली सीमास्थित असैन्यीकृत क्षेत्रमा दुई नेताबीच उच्चस्तरीय भेटवार्ता भएको थियो। ती भेटवार्ताले विश्वव्यापी ध्यान खिचे पनि उत्तर कोरियाको आणविक कार्यक्रम र प्रतिबन्धसम्बन्धी विषयमा ठोस सहमति हुन सकेको थिएन।

यसैबीच, ट्रम्पले उत्तर कोरियासँग आफूहरूको सम्बन्ध राम्रो रहेको बताउँदै प्योङयाङसँग ५७ वटा ‘अत्यन्त शक्तिशाली’ आणविक हतियार रहेको दाबी गरेका छन्। तर दक्षिण कोरियाका रक्षामन्त्री अहन ग्यु–ब्याकले उत्तर कोरियासँग ८० देखि १२० वटासम्म आणविक वारहेड रहेको अनुमान प्रस्तुत गरेका छन्। उनले उक्त संख्या निजी अनुसन्धान संस्थाहरूका अनुमानमा आधारित रहेको र दक्षिण कोरियाली सेनाले यकिन संख्या पुष्टि गर्न नसक्ने स्पष्ट पारे।

अमेरिकाले उत्तर कोरियासँग आणविक हतियार रहेको स्वीकार गरे पनि प्योङयाङलाई औपचारिक रूपमा आणविक हतियार सम्पन्न राष्ट्रको मान्यता दिएको छैन। दक्षिण कोरियाले पनि उत्तर कोरियालाई औपचारिक रूपमा आणविक हतियार सम्पन्न राष्ट्रका रूपमा स्वीकार नगर्ने आफ्नो नीति दोहोर्‍याएको छ।

ट्रम्पको किमसँग पुनः भेट गर्ने तयारीसँगै अमेरिका र दक्षिण कोरियाबीचको संयुक्त सैन्य अभ्याससमेत छोट्याइएको छ। वार्षिक ‘उल्ची फ्रिडम सिल्ड’ अभ्यास ११ दिनबाट घटाएर पाँच दिनमा सीमित गरिएको छ। अमेरिकाले अभ्यासको अवधि र केही फिल्ड ट्रेनिङ घटाए पनि आवश्यक सैन्य तयारी तथा प्रशिक्षण उद्देश्यमा असर नपर्ने जनाएको छ।

उत्तर कोरियाले भने अमेरिकी र दक्षिण कोरियाली संयुक्त सैन्य अभ्यासलाई लामो समयदेखि सम्भावित आक्रमणको तयारीका रूपमा विरोध गर्दै आएको छ। किमकी बहिनी किम यो जोङले अभ्यास छोट्याइए पनि त्यसलाई सकारात्मक कदमका रूपमा नलिएको बताएकी छन्। यद्यपि उनले ट्रम्प र किमबीचको व्यक्तिगत सम्बन्ध उत्कृष्ट रहेको उल्लेख गरेकी छन् र हाल दुई नेताबीच कुनै प्रत्यक्ष संवाद भइरहेको जानकारी आफूलाई नभएको बताएकी छन्।

दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले भने कोरियाली प्रायद्वीपमा शान्ति स्थापना गर्ने प्रयासमा सहयोग गर्ने बताउँदै आएका छन्। पछिल्ला कूटनीतिक गतिविधि, सैन्य अभ्यासमा कटौती र ट्रम्पको किमसँग पुनः भेट गर्ने तयारीलाई अमेरिका–उत्तर कोरिया सम्बन्धमा नयाँ संवादको सम्भावित संकेतका रूपमा हेरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend