जन आकाश
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश संसदीय दलका नेता तथा प्रदेशसभा सदस्य उद्धव थापालाई पार्टीबाट कारबाही गर्ने निर्णय गरेको छ।
पार्टीको केन्द्रीय निर्णय र निर्देशनविपरीत बागमती प्रदेशमा नेकपा एमालेका सांसद किरण थापा मगरलाई मुख्यमन्त्रीमा समर्थन गरेपछि राप्रपाले थापामाथि कारबाही गर्ने निर्णय गरेको हो।
बिहीबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठकले थापालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए।
‘उद्धव थापालाई पार्टीको साधारण सदस्य र प्रदेशसभाको सदस्यबाट समेत पदमुक्त गर्न सिफारिस गर्ने निर्णय भएको छ,’ लिङ्देनले भने।
राप्रपाले यसअघि बुधबार थापासँग स्पष्टीकरण मागेको थियो। तर थापाले स्पष्टीकरण नदिएको अध्यक्ष लिङ्देनले बताए।
उनका अनुसार साउन २० गते बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले राप्रपा प्रदेश सरकारमा सहभागी नहुने निर्णय गरेको थियो। त्यसको भोलिपल्ट साउन २१ गते बागमती प्रदेशका १२ जना सांसदलाई पार्टी केन्द्रीय कार्यालयमा बोलाएर उक्त निर्णयबारे जानकारी गराइएको थियो।
त्यसपछि भदौ १ गते पनि बागमती प्रदेशमा सरकारको समर्थन वा विरोधमा संलग्न नहुन निर्देशन दिँदै पत्र पठाइएको लिङ्देनले बताए।
तर पार्टीको निर्देशनविपरीत थापाले एमालेका सांसद किरण थापा मगरलाई मुख्यमन्त्रीमा समर्थन गर्दै पत्र दिएपछि त्यसलाई गम्भीर अनुशासन उल्लंघनका रूपमा लिइएको राप्रपाको भनाइ छ।
‘तर अचानक हिजो एमालेलाई समर्थन गर्ने भन्ने पत्र गयो, यो अनुशासन उल्लंघन हो,’ लिङ्देनले भने।
थापा २०७९ मंसिरमा सम्पन्न निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ को ‘ख’बाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। राप्रपाले उनलाई प्रदेशसभा सदस्यबाट समेत पदमुक्त गर्न सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend