logo बिहिबार, भाद्र ४ २०८३ | Thursday 20th August 2026

एनजिओलाई दोष दिनुभन्दा सरकारले बालबालिका संरक्षणको जिम्मेवारी लिनुपर्छ : इन्दिरा राना


  • जन आकाश
  • बिहिबार, भाद्र ४ २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा रानामगरले गैरसरकारी संस्था (एनजिओ)लाई मात्र दोष दिनुभन्दा सरकारले बालबालिका तथा लक्षित वर्गको संरक्षणमा प्रत्यक्ष जिम्मेवारी लिनुपर्ने बताएकी छन्।



बिहीबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै रानामगरले राज्यले गर्न नसकेका कतिपय काम एनजिओ, आईएनजिओ तथा नागरिक समाजले गरिरहेको बताइन्। त्यसैले राम्रा काम गरिरहेका संस्थालाई नियन्त्रण गर्नेभन्दा सहकार्य र प्रभावकारी अनुगमन गर्नुपर्ने उनको भनाइ छ। ‘अरूलाई दोष दिनुभन्दा पहिला गभर्मेन्टले जिम्मेवारी लिनुपर्‍यो,’ उनले भनिन्। सरकारले बालबालिकाको संरक्षण, शिक्षा, खाना र आवासलगायत आधारभूत आवश्यकताको जिम्मेवारी लिनुपर्ने उनले बताइन्।

रानामगरले आफूले लामो समय एनजिओ क्षेत्रमा काम गरेको उल्लेख गर्दै संविधानले दिएको अधिकारअनुसार एनजिओ तथा आईएनजिओले सामाजिक क्षेत्रमा काम गरिरहेको बताइन्। सरकारले आफैंले गर्न नसक्ने काम गरिरहेका संस्थालाई अनावश्यक दुःख दिन नहुने उनको भनाइ थियो। ‘आफू पनि हामी गर्न नसक्ने, अरू गर्ने मान्छेलाई पनि सहज नगर्दिने। खाली ब्लेम लाएर हुन्छ?’ उनले प्रश्न गरिन्।

एनजिओ तथा आईएनजिओले प्राप्त गर्ने रकमको पारदर्शिता र त्यसको प्रभावकारी अनुगमन आवश्यक रहेको पनि उनले बताइन्। विशेषगरी कर्णालीलगायत दुर्गम क्षेत्रमा सरकारी तथा अन्य स्रोतबाट जाने रकमको सदुपयोग भए–नभएको प्रभावकारी रूपमा निगरानी गर्नुपर्ने उनको भनाइ छ। समाज कल्याण मन्त्रालयअन्तर्गत रहेको सम्पत्ति तथा स्रोतको समेत प्रभावकारी उपयोग हुन नसकेको उनले बताइन्।

रानामगरले निजी क्षेत्र, एनजिओ तथा नागरिक समाजले पुर्‍याएको योगदानका कारण पनि मुलुकका विभिन्न सामाजिक क्षेत्र सञ्चालनमा सहयोग पुगेको बताइन्। राम्रा काम गर्ने संस्थालाई निरुत्साहित गर्नुको सट्टा राज्यले सहकार्य गर्दै पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिइन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend