जन आकाश
काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका सांसद किरण थापा नियुक्त भएका छन्। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेताहरूको समर्थनमा थापालाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
प्रदेश प्रमुख देवकोटाले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न भदौ ४ गते बिहीबार अपराह्न ४ बजेसम्म दाबी पेस गर्न आह्वान गरेका थिए।
थापाले बुधबार एमाले, नेकपा र राप्रपाका गरी ६३ जना प्रदेशसभा सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।
यद्यपि, सरकार गठनमा राप्रपाको समर्थनलाई लिएर पार्टीभित्रै विवाद उत्पन्न भएको छ। राप्रपाको केन्द्रीय निर्देशनविपरीत एमालेका थापालाई मुख्यमन्त्रीमा समर्थन गरेको भन्दै राप्रपाले आफ्ना बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिसकेको छ।
राप्रपा केन्द्रले प्रदेशमा कुनै दललाई समर्थन गर्ने निर्णय नभएको स्पष्ट पार्दै बुधबार नै प्रदेश प्रमुखको कार्यालयलाई पत्र पठाएको थियो। पार्टी केन्द्रको निर्णयविपरीत संसदीय दलबाट गरिएको समर्थन आधिकारिक नभएको राप्रपाको भनाइ छ।
यसैबीच, प्रदेश प्रमुखको कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री नियुक्ति तथा शपथ ग्रहण कार्यक्रम तय गरिएको जानकारी दिएको थियो।
किरण थापा बागमती प्रदेशको सातौँ मुख्यमन्त्री बनेका छन्। बागमती प्रदेश गठनपछि पहिलो कार्यकालमा नेकपा एमालेबाट डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्य, एमाले विभाजनपछि तत्कालीन नेकपा (एकीकृत समाजवादी)बाट राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्री बनेका थिए।
प्रदेशसभाको दोस्रो कार्यकालमा तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट शालिकराम जम्कट्टेल, नेपाली कांग्रेसबाट बहादुरसिंह लामा र त्यसपछि कांग्रेसकै इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बनेका थिए। यससँगै बागमती प्रदेशमा सरकार परिवर्तनको श्रृंखलामा थापा सातौँ मुख्यमन्त्रीका रूपमा थपिएका छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend