जन आकाश
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको डरका कारण कर्मचारीहरू स्पष्ट राय दिन र निर्णय गर्न हिचकिचाइरहेको बताएकी छन्।
बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री गौतमले ऐन–कानुनमा स्पष्ट व्यवस्था भएका विषयमा समेत कर्मचारीले अख्तियारको डरले निर्णय लिन नसकेको बताइन्।
उनका अनुसार कर्मचारीमा देखिएको यस्तो ‘डिसिजन प्यारालाइसिस’का कारण सरकारी कामकारबाही प्रभावित हुनुका साथै सरकारले प्रभावकारी रूपमा काम गर्न नसक्ने अवस्था सिर्जना भएको छ।
मन्त्री गौतमले अख्तियारलाई राजनीतिक प्रतिशोध, व्यक्तिगत रिसइबी वा कर्मचारीलाई तर्साउने हतियारका रूपमा प्रयोग गर्न नहुने बताइन्। सत्तामा जोसुकै आए पनि संवैधानिक निकायलाई कसैलाई ‘फसाउने’ वा कसैलाई ‘बचाउने’ माध्यम बन्नबाट जोगाउनुपर्ने उनको भनाइ थियो।
उनले केवल उजुरी परेको आधारमा वा कसैलाई तान्ने उद्देश्यले मात्र अभियोजन गर्न नहुनेमा जोड दिइन्। उजुरी परेपछि तथ्य र प्रमाणको पर्याप्त अध्ययन तथा अनुसन्धान गरी आवश्यक प्रमाण जुटेपछि मात्र मुद्दा दायर गर्नुपर्ने उनले बताइन्।
अख्तियारले आफ्नो व्यावसायिक चरित्र र निष्पक्षता कायम राख्न सके सर्वसाधारण तथा प्रशासनिक संयन्त्रको विश्वास जित्न सक्ने मन्त्री गौतमको भनाइ छ।
उनले अख्तियारलाई स्वतन्त्र र निष्पक्ष रूपमा काम गर्ने वातावरण सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताइन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend