logo बिहिबार, भाद्र ४ २०८३ | Thursday 20th August 2026

नैतिकता र वचनबद्धता स्खलित भयो, राष्ट्रियता र समृद्धिको बाटो तय गर्ने जिम्मेवारी जनेपाको’ धवलशम्शेर राणा


  • जन आकाश
  • बिहिबार, भाद्र ४ २०८३

काठमाडौं । नवगठित जय नेपाल पार्टी (जनेपा)का सभापति डा. धवलशम्शेर राणाले समाजका अगुवाहरूकै व्यवहारमा स्वार्थ हावी हुँदा नैतिकता र वचनबद्धता कमजोर बन्दै गएको बताएका छन्।



निर्वाचन आयोगमा दल दर्तापछि पहिलोपटक बसेको केन्द्रीय समिति बैठकमा राजनीतिक कार्यपत्र प्रस्तुत गर्दै राणाले राष्ट्रियताको जग सुदृढ गर्दै मुलुकलाई आर्थिक समुन्नतिको बाटोमा अघि बढाउने जिम्मेवारी जनेपामाथि आएको बताए।

बैठकमा प्रस्तुत राजनीतिक कार्यपत्रमा जनेपालाई शान्तिपूर्ण राजनीतिमा विश्वास गर्ने प्रजातान्त्रिक पार्टीका रूपमा प्रस्तुत गरिएको छ। पार्टीले सनातन धर्म र संवैधानिक राजसंस्थाप्रति प्रतिबद्धता व्यक्त गर्दै नेपाललाई हिन्दु, बौद्ध र किराँतलगायत सनातन सभ्यतामा आधारित अधिराज्यका रूपमा पुनःस्थापित गर्ने लक्ष्य अघि सारेको छ।

राणाले राष्ट्र रक्षकको भूमिकामा रहने गरी संवैधानिक राजसंस्था पुनःस्थापना गर्ने पार्टीको नीति रहेको बताएका छन्।

जनेपाले ‘नेपाल पहिलो’ भन्ने राष्ट्रिय मान्यता र सनातन सभ्यतालाई राष्ट्रिय गौरवका आधारशिला मानेको छ। नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाभिमान, इतिहास, संस्कृति, परम्परा र राष्ट्रिय एकताको संरक्षण तथा प्रवर्द्धनलाई पार्टीले प्राथमिकतामा राखेको छ।

पार्टीले राष्ट्रियता, देशभक्ति, राष्ट्रवाद, प्रजातन्त्र, उदारवाद तथा उत्पादनमुखी प्रतिस्पर्धात्मक मिश्रित अर्थतन्त्रमा आधारित जनकल्याणकारी राज्यलाई शान्ति र समृद्धिको आधार मानेको छ।

त्यस्तै, राष्ट्रिय हित र सुरक्षासँगै असंलग्न परराष्ट्र नीति तथा विश्वशान्तिप्रतिको प्रतिबद्धता सुदृढ गर्दै सम्मानित अन्तर्राष्ट्रिय सम्बन्ध विकास गर्ने लक्ष्य जनेपाले लिएको छ।

विज्ञान, नवप्रवर्तन, प्रविधि विकास, डिजिटल सुशासन तथा ज्ञानमा आधारित अर्थतन्त्रको प्रवर्द्धन गर्दै सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी, उत्तरदायी र नागरिकमैत्री बनाउने प्रतिबद्धता पनि पार्टीले जनाएको छ।

जनेपाले भ्रष्टाचार, दण्डहीनता, गरिबी, विभेद, अपराधीकरण तथा अन्याय न्यूनीकरण गर्दै रोजगारीमुखी, स्थिर, समृद्ध र आत्मनिर्भर नेपाल निर्माणमा योगदान गर्ने जनाएको छ।

नेपालको संस्कृति, परम्परा, सनातन सभ्यता, सहिष्णुता, परम्परागत ज्ञान र नैतिक मान्यताको संरक्षण तथा पुस्तान्तरणलाई समेत पार्टीले आफ्नो प्राथमिकतामा राखेको छ।

आर्थिक समृद्धि र रोजगारी सिर्जनाका लागि जल, जमिन, जंगल, जडीबुटी, उद्योग, कृषि तथा पर्यटनमा लगानी र विकास गर्ने जनेपाको नीति छ। साथै निःशुल्क गुणस्तरीय शिक्षा, स्वास्थ्य तथा सीप विकासमार्फत युवालाई अवसर प्रदान गर्ने प्रतिबद्धता पार्टीले जनाएको छ।

युवाको नेतृत्व, महिला सशक्तीकरण, उद्यमशीलता, सीप, अनुसन्धान र सिर्जनशीलतालाई राष्ट्रिय विकाससँग जोड्ने तथा वातावरण संरक्षण र प्राकृतिक स्रोतको दिगो उपयोगमार्फत जलवायु उत्तरदायी विकास अघि बढाउने लक्ष्य पनि राजनीतिक कार्यपत्रमा समेटिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend