जन आकाश
काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि भएको हत्याको विरोधमा वीरगञ्ज–पथलैया सडकखण्ड आज तेस्रो दिन पनि अवरुद्ध भएको छ।
गरिमाका लागि न्याय माग्दै उनका परिवारले सडकमा धर्ना दिएपछि तीन दिनदेखि उक्त सडकखण्ड अवरुद्ध हुँदै आएको हो। बिहीबार राति प्रशासनले स्थानीय व्यक्तिहरूसँग सडक खुलाउने विषयमा सहमति गरे पनि मृतकका परिवारले आफूहरूलाई जानकारी नै नदिई गरिएको सहमति मान्य नहुने भन्दै धर्ना जारी राखेका छन्।
मृतकका बाबु मनोज चौधरीले प्रशासनले आफूलाई जानकारी नदिई राजनीतिक दलका प्रतिनिधिसँग गरेको सहमति स्वीकार्य नभएको बताए। उनले गृहमन्त्री सुधन गुरुङ र कानुनमन्त्री सोबिता गौतम घटनास्थलमा आएर नेपालको कानुन संशोधन गर्ने प्रतिबद्धता जनाउनुपर्ने माग गरेका छन्।
चौधरीले आफ्नी नाबालिका छोरीको बलात्कारपछि भएको क्रूर हत्याका दोषीलाई मृत्युदण्डको व्यवस्था नभएसम्म आफूहरूले न्यायको अनुभूति गर्न नसक्ने बताएका छन्।
घटनापछि इलाका प्रहरी कार्यालय सिमराका प्रहरी प्रमुखको लापरबाहीका कारण घटना भएको आरोप लगाउँदै स्थानीयले उनको सरुवाको माग गरेका थिए। डीएसपी दिलीप क्षेत्रीको सरुवा भएपछि प्रशासन र स्थानीयबीच पाँचबुँदे सहमति भएको थियो।
तर, मध्यरातमा भएको उक्त सहमतिमा मृतकका परिवारको सहभागिता र अनुमति नरहेको भन्दै परिवारले अस्वीकार गरेको छ।
यसैबीच, बारा प्रशासनले बुधबारदेखि अवरुद्ध वीरगञ्ज–पथलैया सडक खुलाउने प्रयास गरिरहेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी सडक खुलाउने प्रयास गरिएपछि स्थानीयले भने मृतक परिवारलाई रुवाएर सडक नखोल्न प्रशासनलाई चेतावनी दिएका छन्।
स्थानीयले सडक सञ्चालनमा आउनुपर्ने पक्षमा आफूहरू पनि रहेको तर त्यसअघि प्रशासनले मृतकका परिवारसँग सहमति र संवाद गर्नुपर्ने बताएका छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend