logo शुक्रबार, भाद्र ५ २०८३ | Friday 21st August 2026

एनएमबी बैंकले ल्यायो अनलाइन कर्जा आवेदन तथा ट्र्याकिङ प्रणाली


  • जन आकाश
  • शुक्रबार, भाद्र ५ २०८३

काठमाडौं । एनएमबी बैंकले आफ्नो डिजिटल रूपान्तरणको यात्रामा महत्वपूर्ण उपलब्धि हासिल गर्दै अनलाइन कर्जा आवेदन तथा ट्र्याकिङ प्रणाली सञ्चालनमा ल्याएको छ।



नयाँ व्यवस्थासँगै ग्राहकले कर्जाका लागि आवेदन दिन बैंकमा धाउनुपर्ने तथा लामो कागजी प्रक्रिया पूरा गर्नुपर्ने झन्झटबाट मुक्ति पाउने बैंकले जनाएको छ। डिजिटल पोर्टलमार्फत ग्राहकले जुनसुकै स्थान र डिभाइसबाट सहज रूपमा कर्जाका लागि आवेदन दिनुका साथै आफ्नो आवेदन कुन चरणमा पुगेको छ भन्ने जानकारी रियल–टाइममा हेर्न सक्नेछन्।

बैंकका अनुसार नयाँ प्रणालीले कर्जा स्वीकृत हुने समय घटाउनुका साथै सम्पूर्ण प्रक्रियालाई पारदर्शी, सरल र वातावरणमैत्री बनाउनेछ।

कर्जा आवेदन दिन ग्राहकले nmb.com.np मा लग–इन गरी ‘Loan Service’ मा जाने र ‘Explore Product’ मा क्लिक गर्नुपर्नेछ। त्यसपछि आफूलाई आवश्यक कर्जाको प्रकार छनोट गरी माग गरिएका विवरणहरू भरेर आवेदन बुझाउन सकिनेछ।

फारम बुझाएपछि ग्राहकले तत्काल अनलाइन लोन ट्र्याकिङ आईडी प्राप्त गर्नेछन्। उक्त ट्र्याकिङ आईडी प्रयोग गरी आफ्नो कर्जा आवेदनको अवस्था अनलाइनबाटै हेर्न सकिने बैंकले जनाएको छ।

नेपालमा आधुनिक तथा कागजरहित बैंकिङ सेवाको प्रवर्द्धन गर्ने उद्देश्यले नयाँ सेवा सञ्चालनमा ल्याइएको बैंकको भनाइ छ। सम्पूर्ण कर्जा प्रक्रियालाई डिजिटलाइज गर्दै ग्राहकको समय बचत गर्नुका साथै दिगो, सरल र प्रविधिमैत्री बैंकिङ सेवा उपलब्ध गराउन बैंक प्रतिबद्ध रहेको जनाएको छ।

एनएमबी बैंकले हाल देशभर १९७ शाखा, १७६ एटीएम तथा ९ वटा एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend