जन आकाश
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ शुक्रबार बिहान सरकारी गाडीमार्फत काठमाडौंँबाट पोखरातर्फ प्रस्थान गरेका छन्। उनी गाडीमै पोखरा पुगेर त्यसपछि मुस्ताङ जाने कार्यक्रम रहेको बताइएको छ।
यो समाचार तयार पार्दासम्म प्रधानमन्त्री सवार गाडी धादिङ पुगिसकेको थियो। प्रधानमन्त्री शुक्रबार नै पोखरा पुग्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ।
यद्यपि, प्रधानमन्त्री कुन प्रयोजनका लागि पोखरा आउन लागेका हुन् भन्नेबारे स्थानीय सुरक्षा निकायलाई औपचारिक जानकारी छैन। कास्कीका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले प्रधानमन्त्रीको पोखरा भ्रमणबारे प्रधानमन्त्री कार्यालय वा गृह मन्त्रालयबाट कुनै औपचारिक जानकारी प्राप्त नभएको बताए।
उनका अनुसार प्रहरीलाई पनि सञ्चारमाध्यममार्फत प्रधानमन्त्री पोखरा आउन लागेको जानकारी भएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीका सभापति यदु अधिकारीले पनि प्रधानमन्त्रीको भ्रमणबारे पार्टीलाई औपचारिक जानकारी नभएको बताए। उनका अनुसार प्रहरीले भने भ्रमणबारे पार्टीसँग जानकारी मागेको थियो।
प्रधानमन्त्रीको मुस्ताङ भ्रमणको कार्यक्रम तय भएको भनिए पनि मुस्ताङ प्रहरीलाई समेत यसबारे औपचारिक जानकारी छैन। मुस्ताङका प्रहरी प्रमुख डीएसपी रामचन्द्र तिवारीले भीभीआईपी भ्रमणबारे जानकारी नआएको बताए। यद्यपि, आवश्यक सुरक्षा प्रबन्ध गर्न कुनै समस्या नरहेको उनको भनाइ छ।
सुरक्षा निकायलाई औपचारिक जानकारी नआए पनि प्रधानमन्त्री शाहको पोखरा भ्रमण भने निश्चित रहेको स्रोतले जनाएको छ। स्रोतका अनुसार प्रधानमन्त्री शुक्रबार अपराह्न पोखरा पुग्नेछन्।
पोखरा पुगेपछि शाहले कास्कीको अन्नपूर्ण गाउँपालिका–अस्तामस्थित एक रिसोर्टमा रात बिताउने तयारी रहेको बताइएको छ। स्रोतका अनुसार प्रधानमन्त्रीका लागि उक्त रिसोर्ट बुक भइसकेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend