logo शुक्रबार, भाद्र ५ २०८३ | Friday 21st August 2026

रेशम चौधरीको आममाफीविरुद्धको रिटमा साढे दुई वर्षपछि पेस


  • जन आकाश
  • शुक्रबार, भाद्र ५ २०८३

काठमाडौं । टीकापुर हत्याकाण्डमा तीन तहकै अदालतबाट दोषी ठहर भई जन्मकैदको सजाय पाएका रेशम चौधरीलाई आममाफी दिने तत्कालीन सरकारको निर्णयविरुद्ध परेको रिटमा साढे दुई वर्षपछि सुनुवाइका लागि पेसी तोकिएको छ।



सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नृपध्वज निरौलाको संयुक्त इजलासमा उक्त रिटको पेसी तोकिएको हो। साढे दुई वर्षदेखि सुनुवाइ हुन नसकेको मुद्दालाई सर्वोच्चले अग्राधिकारमा राखेर सुनुवाइका लागि पेसी तोकेको हो।

रेशमले आममाफी पाएको भोलिपल्ट अर्थात् २०८० जेठ १६ गते टीकापुर हत्याकाण्डमा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी श्रीमती शारदा कडायतले सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्।

उक्त रिटमा २०८० जेठ २३ गते न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले कारण देखाऊ आदेश जारी गर्दै अग्राधिकार दिएको थियो।

सरकारका विभिन्न निकायले २०८० साउन ८ गतेभित्रै सर्वोच्च अदालतमा लिखित जवाफ पेस गरेका थिए। तर लिखित जवाफ पेस भएपछि पनि अहिलेसम्म मुद्दाको सुनुवाइ हुन सकेको थिएन।

कारण देखाऊ आदेश जारी भएको साढे दुई वर्षसम्म सुनुवाइ हुन नसकेको उक्त रिट अब अग्राधिकारसहित संयुक्त इजलासमा पेसी तोकिएपछि सुनुवाइको बाटो खुलेको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend