जन आकाश
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंको घरबाट प्रहरीले नियन्त्रणमा लिएका मोबाइल, ल्यापटप तथा सिसिटिभी रेकर्डर फरेन्सिक जाँचका लागि पठाएको छ।
बिहीबार राति काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले प्रसाईंको घरमा खानतलासी गरेको थियो। त्यस क्रममा प्रहरीले ६ वटा मोबाइल, एउटा ल्यापटप र सिसिटिभीको रेकर्डर डिभाइस नियन्त्रणमा लिएको हो।
अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार भक्तपुरमा विचाराधीन मुद्दाको अनुसन्धानका क्रममा ती सामग्री नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिइएका डिभाइसहरू प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा फरेन्सिक परीक्षणका लागि पठाइएको उनले बताए।
यद्यपि प्रहरीले कुन कसुरसँग सम्बन्धित अनुसन्धानका लागि ती सामग्री नियन्त्रणमा लिइएको हो भन्ने विषय भने खुलाएको छैन।
जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक कार्कीले पनि अनुसन्धानका लागि मोबाइललगायत सामग्री नियन्त्रणमा लिइएको बताए। तर अनुसन्धानको विषय सबै आफूलाई जानकारी नहुने भन्दै उनले कुन कसुरमा अनुसन्धान भइरहेको हो भन्ने खुलाउन मानेनन्।
प्रहरीले सर्चका क्रममा भेटिएका सामग्रीबाट थप विषय खुलेमा त्यसअनुसार अनुसन्धान अघि बढ्न सक्ने जनाएको छ। प्रसाईंलाई प्रहरीले यसअघि पनि विभिन्न घटनामा पटक–पटक पक्राउ गर्दै आएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend