logo शुक्रबार, भाद्र ५ २०८३ | Friday 21st August 2026

प्रधानमन्त्री शाह अस्तामको अन्नपूर्ण इको रिसोर्टमा बस्ने, सुरक्षा व्यवस्था कडा


  • जन आकाश
  • शुक्रबार, भाद्र ५ २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन शाह शुक्रबार कास्कीको माछापुच्छ्रे गाउँपालिका–६, अस्तामस्थित अन्नपूर्ण इको रिसोर्टमा बास बस्ने भएका छन्। रिसोर्ट स्रोतका अनुसार प्रधानमन्त्री शाह आउने भएपछि अन्य पर्यटकका लागि बुकिङ रोकिएको छ। प्रधानमन्त्रीको आगमनलाई लक्षित गर्दै रिसोर्ट जाने बाटोमा नेपाली सेनाले चेकजाँचसमेत कडा पारेको छ।



सेनाले रिसोर्टका सञ्चालक र कर्मचारीबाहेक अन्य व्यक्तिलाई आवतजावत गर्न रोक लगाएको बताइएको छ। चेकजाँचमा खटिएका सैनिक प्रतिनिधिले प्रधानमन्त्री शाहको निजी भ्रमण भएकाले सुरक्षा व्यवस्था कडा पारिएको बताएका छन्।

अन्नपूर्ण इको रिसोर्टमा बास बसेपछि प्रधानमन्त्री शाह शनिबार मुस्ताङ जाने कार्यक्रम रहेको जनाइएको छ। यद्यपि प्रधानमन्त्रीको भ्रमणबारे जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला प्रशासन कार्यालय कास्कीले आफूहरूलाई औपचारिक जानकारी नभएको बताएका छन्।

यसैबीच, अस्तामसँगै जोडिएको पोखरा महानगरपालिका–२५, हेमजाका वडा सदस्य कृष्णबहादुर कुँवर प्रधानमन्त्री शाहलाई भेट्ने आशामा अस्ताम पुगेका छन्। स्थानीय समस्या प्रधानमन्त्रीसमक्ष राख्ने उद्देश्यले पुगे पनि रिसोर्ट प्रवेश गर्न खोज्दा नेपाली सेनाले आफूलाई फर्काइदिएको उनले बताएका छन्।कुँवरले प्रधानमन्त्री शाह आइपुगेपछि भेटेर स्थानीय समस्या राख्न पाउने आशा व्यक्त गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend