जन आकाश
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ विद्युत् तथा सिँचाइ पूर्वाधारको स्थलगत निरीक्षणका लागि आज कोशी प्रदेशको भ्रमणमा निस्किँदै छन्। मन्त्री श्रेष्ठ मन्त्रालयका अधिकारीसहित आज दिउँसो १ बजे कोशी प्रदेशको राजधानी विराटनगर प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
तीनदिने भ्रमणका क्रममा मन्त्री श्रेष्ठ नेतृत्वको टोलीले पूर्वी नेपालमा देखिएका विद्युत् समस्या, प्रसारण लाइन तथा अन्य विद्युत् पूर्वाधारको अवस्थाबारे स्थलगत निरीक्षण गर्नेछ। साथै, सिँचाइको पहुँच, नहरहरूको अवस्था र देखिएका समस्याको समेत प्रत्यक्ष अवलोकन गरी आवश्यक सुधारका लागि रणनीति तय गरिने जनाइएको छ।
भ्रमण टोलीमा मन्त्रालयका सचिव सरिता दवाडी, सहसचिव मोहनकुमार शाक्य, मन्त्रीका निजी सचिव सुदर्शन श्रेष्ठ, सचिवालय सदस्य देवेश बेल्बासेलगायत रहेका छन्। त्यसैगरी जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक डा. महेश्वर श्रेष्ठ, उपमहानिर्देशक दिनेश भट्ट तथा नेपाल विद्युत् प्राधिकरणका कामु निर्देशक दीर्घायुकुमार श्रेष्ठसहितका अधिकारी पनि टोलीमा सहभागी हुनेछन्।
मन्त्रीको सचिवालयका अनुसार भ्रमणका क्रममा इनरुवास्थित ४०० केभी भोक्राहा सबस्टेसन र केरौना सबस्टेसनको निरीक्षण गरिनेछ। त्यसैगरी बराहक्षेत्र–चतहरा नहरको स्थलगत अवलोकन गर्नुका साथै नेपालको पुरानो सिँचाइ प्रणालीको विरासत बोकेको चन्द्र नहरको समेत निरीक्षण गर्ने कार्यक्रम रहेको छ।
मन्त्री श्रेष्ठले यसअघि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको भ्रमण गरी ती क्षेत्रका ऊर्जा, जलस्रोत तथा सिँचाइसम्बन्धी समस्या स्थलगत रूपमा बुझेका थिए। कोशी प्रदेश भ्रमणलाई पनि पूर्वी क्षेत्रका पूर्वाधार तथा समस्याको प्रत्यक्ष अध्ययन र समाधानका लागि आवश्यक योजना निर्माणमा केन्द्रित गरिने बताइएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend