जन आकाश
काठमाडौं । अमेरिका र क्यानडाबीच व्यापार सम्झौता गर्ने अन्तिम प्रयास असफल भएको छ । यससँगै दुई छिमेकी मुलुकबीचको व्यापार विवाद थप चर्किएको छ ।
अमेरिकाले शुक्रबार राति भएको वार्ता असफल भएपछि क्यानडाबाट आयात हुने करिब २० अर्ब अमेरिकी डलर बराबरका वस्तुमा ५० प्रतिशत नयाँ ट्यारिफ लागु गरेको थियो ।
यो क्यानडाबाट अमेरिकातर्फ हुने कुल आयातको करिब ५ प्रतिशत हो । त्यसको जवाफमा क्यानडाले सेप्टेम्बर ८ देखि जवाफी कर लगाउने घोषणा गरेको छ ।
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले शनिबार देशवासीलाई सम्बोधन गर्दै अमेरिकाले लगाएको ट्यारिफको ‘डलर–फर–डलर’ जवाफ दिने घोषणा गरेका छन् ।
प्रधानमन्त्री कार्नीले अमेरिकाले क्यानडामाथि लगाएको नयाँ ट्यारिफलाई ‘ठूलो गलत आकलन’ भन्दै यसको उद्देश्य क्यानडालाई आर्थिक रूपमा कमजोर बनाउने र विभाजित गर्ने रहेको आरोप लगाएका छन् ।
उनले दुई देशबीच अहिले ‘व्यापार युद्धको अवस्था’ सिर्जना भएको बताएका छन् । साथै अमेरिकाले वार्तामा ‘धेरै माग गरेको र बदलामा निकै कम प्रस्ताव गरेको’ उनले बताएका छन् ।
स्टिल, इलेक्ट्रोनिक्स, डेरी उत्पादन, घरेलु उपकरणलगायत अमेरिकी सामानमा जवाफी कर लगाइने कार्नीले बताएका छन् ।
क्यानडेली सरकारले अमेरिकी ट्यारिफबाट प्रभावित कामदार तथा व्यवसायलाई सहयोग गर्न थप उपायसमेत घोषणा गर्ने जनाएको छ । यसअघि पछिल्लो १८ महिनामा सरकारले करिब २५ अर्ब क्यानडेली डलर बराबरको सहयोग उपलब्ध गराइसकेको बताएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend