logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

सुगौली सन्धिपछि देशकै भयानक संकटमा छौँ प्रचण्ड


  • जन आकाश
  • सोमबार, भाद्र ८ २०८३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक सुगौली सन्धिपछिकै सबैभन्दा भयानक संकटमा रहेको बताएका छन्।



आइतबार आयोजित ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तरक्रियामा बोल्दै प्रचण्डले राष्ट्रिय स्वाधीनतामाथि गम्भीर चुनौती उत्पन्न भएको बताएका हुन्।

“अहिले देश साँच्चै संकटमा छ। राष्ट्रिय स्वाधीनताको दृष्टिले सुगौली सन्धिपछि सायद यति भयानक संकट कहिल्यै देखिएको थिएन,” उनले भने।

उनले वर्तमान संकटबाट मुलुकलाई निकास दिन कम्युनिस्ट शक्तिहरूबीच एकता र सहकार्य आवश्यक रहेको बताए। जनताको विकास र समृद्धिको आकांक्षा पूरा गर्न पनि कम्युनिस्ट आन्दोलनको एकता महत्वपूर्ण हुने उनको भनाइ थियो।

प्रचण्डले नेपालको राष्ट्रिय स्वाधीनता, उत्पीडित वर्गका मुद्दा तथा वैदेशिक हस्तक्षेपविरुद्धको संघर्षलाई पर्याप्त प्राथमिकता दिन नसक्दा अहिलेको असाधारण अवस्था सिर्जना भएको बताए।

विगतका कमजोरीका विषयमा राजनीतिक दलहरूले एक–अर्कालाई दोषारोपण गर्नुभन्दा सामूहिक रूपमा गम्भीर आत्मसमीक्षा गर्नुपर्नेमा उनले जोड दिए।

राष्ट्रिय स्वाधीनता र देशभक्तिपूर्ण आन्दोलनको कम्युनिस्ट आन्दोलनसँग ‘नङ र मासु’को जस्तै सम्बन्ध रहेको उल्लेख गर्दै प्रचण्डले साझा निकासका लागि गम्भीर चिन्तन र मनन गर्न विभिन्न दलका प्रतिनिधिलाई आह्वान गरे।

उनले कम्युनिस्ट शक्तिहरूबीचको एकता र सहकार्यबाट मात्रै राष्ट्रिय स्वाधीनताको रक्षा र सुदृढीकरण सम्भव हुने दाबी गरे।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend