logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

पूर्णबहादुर चेपाङ सञ्चारमार्फत चेपाङ समुदायको आवाज उठाउँदै


  • जन आकाश
  • सोमबार, भाद्र ८ २०८३

धादिङ।  धादिङको बेनिघाट रोराङ गाउँपालिका–८, बर्पुक निवासी पत्रकार पूर्णबहादुर चेपाङले सञ्चारमाध्यममार्फत चेपाङ समुदायको आवाज उठाउँदै आएका छन्।



२०७३ सालदेखि पत्रकारितामा सक्रिय रहेका चेपाङले आफ्नो पत्रकारिता यात्रा एफएम रेडियो धादिङबाट सुरु गरेका हुन्। रेडियो पत्रकारितामार्फत स्थानीय समुदायका समस्या, जनसरोकारका विषय तथा सामाजिक गतिविधिलाई उजागर गर्दै उनले सञ्चार क्षेत्रमा आफ्नो पहिचान बनाउँदै लगे। त्यसपछि २०७६ सालदेखि आफ्नै मिडिया सञ्चालन गर्दै उनी डिजिटल पत्रकारितामा समेत निरन्तर सक्रिय रहँदै आएका छन्।

चेपाङको पत्रकारिताको मुख्य प्राथमिकता आफ्नै समुदायका हक, अधिकार, पहिचान र आवाजलाई सञ्चारमाध्यममार्फत सम्बन्धित निकाय र आम नागरिकसम्म पुर्‍याउनु हो। उनले चेपाङ समुदायको शिक्षा, स्वास्थ्य, आर्थिक अवस्था, रोजगारी, सामाजिक समस्या तथा विकाससँग जोडिएका विषयलाई समाचार र विभिन्न सञ्चार सामग्रीमार्फत उठाउँदै आएका छन्।

त्यसैगरी चेपाङ समुदायको भाषा, कला, संस्कृति, परम्परा र मौलिक पहिचानको संरक्षण तथा प्रवद्र्धनमा पनि उनले सञ्चारमाध्यमको प्रयोग गर्दै आएका छन्। समुदायका समस्या मात्र नभई विभिन्न क्षेत्रमा रहेका प्रतिभा, सकारात्मक काम र सम्भावनालाई समेत बाहिर ल्याउने उनको प्रयास छ।

ब्याचलर ध्ययन गरेका पूर्णबहादुरले पत्रकारितालाई केवल पेशाका रूपमा मात्र नहेरी समुदायको आवाज र अधिकार स्थापित गर्ने माध्यमका रूपमा लिएका छन्। स्थानीय स्तरमा उठेका विषयलाई राष्ट्रिय स्तरसम्म पुर्‍याउन सञ्चारको महत्वपूर्ण भूमिका रहने उनको बुझाइ छ।

आगामी दिनमा पनि पत्रकारितामार्फत चेपाङ समुदायका मुद्दा, संस्कृति, पहिचान र सम्भावनालाई देश–विदेशसम्म पुर्‍याउने उनको लक्ष्य रहेको छ। समुदायको आवाजलाई निरन्तर सञ्चारको माध्यमबाट बुलन्द बनाउने उनको अभियानले चेपाङ समुदायको पहिचान र अधिकारका विषयलाई सार्वजनिक बहसमा ल्याउन महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend