logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

प्रधानमन्त्री शाहसँग भोलि सांसदको सवालजवाफ, ११ सांसदले प्रश्न दर्ता


  • जन आकाश
  • मंगलबार, भाद्र ९ २०८३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ र सांसदबीच भोलि (भदौ १० गते) बस्ने प्रतिनिधिसभा बैठकमा सवालजवाफ हुने भएको छ।



प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ जना सांसदले आफ्ना प्रश्न दर्ता गराएको संसद् सचिवालयले जनाएको छ। प्रतिनिधिसभाको नियमावलीअनुसार बढीमा १५ वटा प्रश्न दर्ता गर्न सकिने भए पनि सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले आफ्नो कोटाअनुसार प्रश्न दर्ता गराएका छैनन्।

रास्वपाका सांसदले सातवटासम्म प्रश्न दर्ता गर्न पाउने भए पनि तीनवटा प्रश्न मात्रै दर्ता भएका छन्। अन्य दलका सांसदले भने आफ्नो कोटाअनुसार प्रश्न दर्ता गराएको संसद् सचिवालयले जनाएको छ।

सभामुख डोलप्रसाद अर्यालले प्रश्नोत्तरको समय तोक्दै भदौ ५ गतेभित्र प्रश्न दर्ता गर्न सांसदहरूलाई निर्देशन दिएका थिए।

संसद् सचिवालयका अनुसार रास्वपाबाट अमरेशकुमार सिंह, कृष्णहरि बुढाथोकी र समीक्षा बाँस्कोटाले प्रधानमन्त्रीलाई सोध्ने प्रश्न दर्ता गराएका छन्। नेपाली कांग्रेसबाट बासना थापा र गीता गुरुङ, नेकपा (एमाले) बाट ऐनबहादुर महर र गणेशसिंह ठगुन्ना तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट वर्षमान पुन र प्रमेश हमालले प्रश्न दर्ता गराएका छन्।

त्यस्तै, श्रम संस्कृति पार्टीका हर्कराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की खुश्बु ओलीले पनि प्रधानमन्त्रीलाई प्रश्न सोध्ने तयारी गरेका छन्।

यसअघि भदौ १ गते बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई प्रतिनिधिसभामा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन रुलिङ गरेका थिए।

सभामुख अर्यालले भनेका थिए, ‘प्रतिनिधि सभाको बैठकमा उपस्थित भई नियमावलीको नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम माननीय सदस्यहरूको प्रश्नको जवाफ दिन म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु।’

प्रधानमन्त्री शाहले गत जेठ १७ गते संसद्मा बोल्ने क्रममा ‘भारतले मात्रै होइन, नेपालले पनि धेरै ठाउँमा भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिको विरोधमा विपक्षी दलका सांसदले निरन्तर संसद्मा उठेर विरोध जनाउँदै आएका छन्।

प्रधानमन्त्रीको अभिव्यक्तिको विषयमा विपक्षी सांसदको विरोध नरोकिएपछि सभामुखले प्रधानमन्त्रीलाई संसद्मा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन रुलिङ गरेका हुन्।

प्रतिनिधिसभा नियमावलीमा प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार प्रधानमन्त्री शाहसँग भोलि प्रतिनिधिसभामा सांसदको सवालजवाफ हुन लागेको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend