जन आकाश
काठमाडौं । बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ। कार्यक्रममा प्रधानमन्त्री बालेन शाहलाई ११ जना सांसदले प्रश्न सोध्ने भएका छन्।
संसद् सचिवालयका अनुसार सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद समीक्षा बास्कोटा, कृष्णहरि बुढाथोकी र अमरेशकुमार सिंहले प्रधानमन्त्रीलाई प्रश्न सोध्नेछन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापा र सांसद गीता गुरुङले प्रश्न राख्ने भएका छन्। त्यस्तै, नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महर र सांसद गणेशसिंह ठगुन्नाले पनि प्रधानमन्त्रीलाई प्रश्न सोध्ने गरी नाम टिपाएका छन्।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुन र प्रमेशकुमार हमाल तथा श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राईले पनि प्रश्न सोध्नेछन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले पनि प्रधानमन्त्रीलाई प्रश्न गर्नेछिन्।
प्रश्न सोध्ने सांसदहरूले आफूले उठाउन चाहेको विषय र प्रश्नको विवरण संसद् सचिवालयमा दर्ता गराइसकेका छन्।
यसअघि भदौ १ गते बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्याल (डीपी) ले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि समय निर्धारण गरेका थिए।
प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी व्यवस्था गरिएको छ। उक्त व्यवस्थाअनुसार प्रधानमन्त्री वा उहाँको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्न सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्ने व्यवस्था छ।
सोही व्यवस्थाअनुसार सभामुख अर्यालले बुधबारको बैठकमा प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम तय गरेका हुन्।
नियमावलीको नियम ५७ मा प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम प्रत्यक्ष प्रसारण गर्न सकिने व्यवस्था छ। सरकारी तथा अन्य सञ्चारमाध्यमबाट समेत कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्न सकिने प्रावधान छ।
त्यस्तै, नियम ५८ अनुसार प्रधानमन्त्रीलाई प्रश्न गर्न इच्छुक सदस्यले आफ्नो प्रश्नको विषयको लिखित जानकारी बैठक प्रारम्भ हुनुभन्दा तीन दिनअघि सभामुखलाई गराउनुपर्ने व्यवस्था छ। सोहीअनुसार सभामुख अर्यालले प्रधानमन्त्रीलाई प्रश्न सोध्न चाहने सांसदलाई भदौ ५ गतेभित्र प्रश्न दर्ता गर्न समय दिएका थिए।
सांसदहरूलाई उपलब्ध गराइएको कोटाअनुसार बढीमा १५ जनाले प्रधानमन्त्रीलाई प्रश्न सोध्न पाउने भए पनि ११ जनाले मात्रै प्रश्न दर्ता गरेका छन्।
सभामुखले सबै दलबाट कम्तीमा एक/एक जना सांसद सहभागी हुने र बाँकी प्रश्नकर्ताको संख्या दलीय उपस्थितिका आधारमा निर्धारण गरेका थिए। यसअनुसार रास्वपाका सात जना सांसदले प्रश्न सोध्न पाउने भए पनि तीन जनाले मात्रै प्रश्न दर्ता गरेका हुन्।
प्रतिनिधिसभा नियमावलीको नियम ५९ मा प्रत्यक्ष प्रश्नोत्तरका क्रममा प्राप्त प्रश्न स्वीकारयोग्य छ वा छैन भन्ने निर्णय सभामुखले गर्ने व्यवस्था छ। प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी अन्य कार्यविधि पनि सभामुखले निर्धारण गरेबमोजिम हुने व्यवस्था छ।
त्यस्तै, नियम ६० अनुसार प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमअन्तर्गत दिइएको जवाफका सम्बन्धमा प्रतिनिधिसभामा कुनै छलफल गरिने छैन।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend