जन आकाश
काठमाडौं । नेपालमा सवारीसाधनको बजार विस्तार भइरहेका बेला स्वदेशमै उत्पादन तथा एसेम्बल भएका सवारीसाधन र अटोमोबाइल सामग्रीलाई समेत प्राथमिकता दिँदै नाडा अटो शो २०२६ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आयोजना गरेको १८औँ संस्करणको अटो शोको उपराष्ट्रपति रामसहायप्रसाद यादवले उद्घाटन गरेका हुन्। नाडाको स्थापनाको ५०औँ वर्ष पूरा भएको अवसरमा आयोजना गरिएको यसपटकको प्रदर्शनीमा दुईपांग्रे, चारपांग्रे तथा व्यावसायिक सवारीसाधनका गरी ५३ वटा ब्रान्ड सहभागी छन्।
आयोजकका अनुसार अटो शोमा डेढ दर्जनभन्दा बढी नयाँ मोडल सार्वजनिक तथा प्रदर्शन हुँदैछन्। प्रदर्शनीको प्रमुख आकर्षणमध्ये नेपालमै उत्पादन भएको विद्युतीय स्कुटर ‘यात्री पी–२’ पनि रहेको छ। नेपाली कम्पनीले उत्पादन गरेको सवारीसाधनलाई अन्तर्राष्ट्रिय ब्रान्डका सवारीसँगै एउटै प्रदर्शनीमा राखिनुले नेपालको अटोमोबाइल उद्योगमा भइरहेको परिवर्तनलाई समेत प्रतिबिम्बित गर्ने नाडाको भनाइ छ।
यसपटक नाडाले विदेशी ब्रान्डका सवारीसाधनसँगै नेपालमै उत्पादन वा एसेम्बल भएका सवारीसाधन तथा अटोमोबाइल सामग्रीलाई विशेष प्राथमिकता दिएको छ। प्रदर्शनीस्थलमा ‘मेड इन नेपाल, मेड फर नेपाल’ नामको छुट्टै प्याभिलियन बनाइएको छ।
उक्त प्याभिलियनमा नेपालमै उत्पादन वा एसेम्बल भएका सवारीसाधन तथा अटोमोबाइल सामग्री प्रदर्शन गरिएका छन्। नाडाका अनुसार करिब आठ नेपाली उत्पादक यस क्षेत्रमा सहभागी छन्।
नेपाली उत्पादकहरूले विद्युतीय मोटरसाइकल, अटोमोटिभ ब्याट्री, ल्युब्रिकेन्ट, हेल्मेटलगायतका सामग्री प्रदर्शन गरेका छन्। यात्रीसँगै एसियन वायरिङ, कोहिनुर प्लास्टिक इन्डस्ट्रिज, नेपाल ल्युब आयल र पूर्वाञ्चल ल्युब आयललगायतका कम्पनी सहभागी छन्।
नाडाले नेपाली उत्पादनलाई छुट्टै स्थान दिएर प्रदर्शन गर्नुको उद्देश्य नेपालमा अटोमोबाइल क्षेत्रमा भइरहेको उत्पादन तथा औद्योगिक गतिविधिलाई उपभोक्तासम्म पुर्याउनु रहेको जनाएको छ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले नेपालमा अटोमोबाइल क्षेत्रमा स्वदेशी उत्पादनको सम्भावना बढ्दै गएको बताए।
‘हामीले दिन खोजेको सन्देश यही हो—नेपाल अब गाडी आयात गर्ने देशमा मात्र सीमित छैन। हामी बिस्तारै आत्मनिर्भरता र स्वदेशी उद्यमतर्फ बढिरहेका छौँ,’ उनले भने।
उनका अनुसार नाडाको ५० वर्षे यात्रामा नेपालमा सवारीसाधनको बिक्री, खरिद तथा सर्भिसिङ मात्र नभई पार्टपुर्जा आपूर्तिदेखि उत्पादनसम्मका गतिविधि विस्तार भएका छन्।
नाडाका अनुसार पाँच दशकअघि नेपालमा गाडी व्यवसायीको प्रतिनिधित्व गर्ने उद्देश्यले स्थापना भएको संस्था अहिले सवारीसाधन बिक्री गर्ने व्यवसायीको मात्र प्रतिनिधि नभई बिक्री, एसेम्बल, वित्तीय सुविधा, बीमा, सर्भिसिङ तथा पार्टपुर्जा आपूर्तिसँग सम्बन्धित व्यवसायीको प्रतिनिधिमूलक संस्था बनेको छ।
यसपटकको अटो शोमा प्यासेन्जर कारतर्फ रिडारा, आयोन, जेएमईभी, टाटा ईभी, सुजुकी, दीपल, अभतार, फोटोन, स्कोडा, नामी, चांगन, प्रोटोन, बीवाईडी, जीली, ओमोडा, जेको, जेटोर, एमजी, जीडब्ल्यूएम, लीपमोटर, एमहिरो, स्काइवेल र वुलिङलगायतका ब्रान्ड सहभागी छन्।
लाइट कमर्सियल सवारीसाधनतर्फ फोटोन, सोकोन, किङलङ, हाइगर, फारिजोन, जिनबेई, टाटा मोटर्स कमर्सियल भेइकल्स, डीएफएसके, कामा, न्यू गोनो अटो, ओकवेल, दीगो, स्काईवर्थ ईभी, डोङफेङ, कावेल अटो, फेइदी र एकता मोटर्स सहभागी छन्।
दुईपांग्रे सवारीतर्फ रोयल इन्फिल्ड, यात्री, हिरो, भिडा, यामाहा रेसिङ, भेस्पा–अप्रिलिया, एम्पियर, मेटाईभी, जोङसेङ, क्यूजे मोटर्स, मिचे अटो र रिभोल्टलगायतका ब्रान्ड सहभागी छन्।
सवारीसाधनबाहेक बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, अटो पार्ट्स, ग्यारेज उपकरणलगायतका सामग्रीका २०० भन्दा बढी स्टल प्रदर्शनीमा राखिएका छन्।
प्रदर्शनीलाई चारपांग्रे, दुईपांग्रे, वित्तीय संस्था, अटो पार्ट्स तथा ग्यारेज उपकरण, ‘मेड इन नेपाल, मेड फर नेपाल’ र इन्टरनेसनल बिजनेस प्याभिलियनलगायत विभिन्न क्षेत्रमा विभाजन गरिएको छ।
अटो शोमा सर्वसाधारणका लागि प्रवेश शुल्क २०० रुपैयाँ र विद्यार्थीका लागि १५० रुपैयाँ तोकिएको छ। टिकट खल्ती एपमार्फत अनलाइन खरिद गर्न सकिने व्यवस्था गरिएको छ।
प्रदर्शनीस्थलमा पार्किङ, ट्राफिक व्यवस्थापन सूचना डेस्क, मिडिया डेस्क, क्याफेटेरिया तथा आकस्मिक स्वास्थ्य सेवासमेत उपलब्ध गराइएको नाडाले जनाएको छ।
ठूलो संख्यामा विदेशी ब्रान्डका नयाँ मोडलसँगै नेपाली उत्पादनलाई समेत एउटै मञ्चमा प्रदर्शन गरिएकाले यसपटकको नाडा अटो शोले नेपालको अटो बजार आयातमा मात्र निर्भर बजारबाट उत्पादन र आत्मनिर्भरताको दिशातर्फ अघि बढिरहेको संकेत गरेको आयोजकको दाबी छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend