जन आकाश
काठमाडौं । मुक्तिनाथ विकास बैंक र नेपालमा टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङबीच टाटाका पिकअप तथा साना व्यावसायिक सवारीसाधन खरिदका लागि कर्जा सुविधा उपलब्ध गराउने समझदारीपत्रमा हस्ताक्षर भएको छ।
समझदारीपत्रमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र सिप्रदी ट्रेडिङका भाइस प्रेसिडेन्ट सौरभ राज थपलियाले हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार सिप्रदी ट्रेडिङका अधिकृत डिलरमार्फत टाटा ब्रान्डका पिकअप तथा साना व्यावसायिक सवारीसाधन खरिद गर्ने ग्राहकलाई मुक्तिनाथ विकास बैंकले आफ्ना १७६ वटै शाखा कार्यालयबाट सहुलियत ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराउनेछ।
बैंकका अनुसार विद्युतीय (ईभी) सवारीसाधन खरिदका लागि ६० प्रतिशतसम्म तथा आन्तरिक दहन इन्जिन (आईसीई) सवारीसाधनका लागि ७० प्रतिशतसम्म कर्जा सुविधा उपलब्ध हुनेछ।
यस सहकार्यबाट व्यवसाय, कृषि तथा साना उद्यममा प्रयोग हुने व्यावसायिक सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई सहज वित्तीय पहुँच पुग्ने र व्यवसाय विस्तारमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यसैबीच, मुक्तिनाथ विकास बैंकले अटो कर्जा, कृषि कर्जा तथा एसएमई कर्जामा समेत न्यूनतम ब्याजदरमा कर्जा प्रवाह गर्ने विशेष योजना सञ्चालनमा ल्याएको जनाएको छ। बैंकका अनुसार उक्त योजनाले साना व्यवसायी तथा उद्यमीलाई आवश्यक लगानी जुटाउन थप सहजता प्रदान गर्नेछ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend