logo बिहिबार, भाद्र ११ २०८३ | Thursday 27th August 2026

गण्डकी सरकारबाट एमाले बाहिरियो, पाण्डे सरकारको बहुमत कायमै


  • जन आकाश
  • मंगलबार, भाद्र ९ २०८३

काठमाडौं ।  नेकपा एमालेले गण्डकी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ। मंगलबार बसेको एमाले गण्डकी संसदीय बोर्डको बैठकले सरकारमा सहभागी आफ्ना चार मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो।



सबै प्रदेशमा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच सत्ता सहकार्य गर्ने सहमति बनेपछि एमालेले गण्डकी सरकारबाट बाहिरिने निर्णय गरेको हो।

एमालेबाट गण्डकी सरकारमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री गोविन्दबहादुर नेपाली, उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमाल, कृषिमन्त्री भीमबहादुर कार्की र स्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डे सहभागी थिए। उनीहरूलाई मंगलबार नै फिर्ता बोलाउने निर्णय गरिएको एमाले सांसद सुधीर पौडेलले जानकारी दिए।

कांग्रेस र एमालेको गठबन्धनबाट गण्डकीमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको नेतृत्वमा सरकार बनेको थियो। एमाले सरकारबाट बाहिरिए पनि नेपाली कांग्रेस नेतृत्वको सरकारलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) को समर्थन कायमै रहेकाले तत्काल सरकारको बहुमतमा असर नपर्ने कांग्रेस नेताहरूको दाबी छ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा मनाङबाट स्वतन्त्र निर्वाचित सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ पदमुक्त भएपछि हाल ५९ सांसद छन्। सरकार गठनका लागि ३० सांसदको समर्थन आवश्यक पर्छ।

प्रदेशसभामा कुनै पनि दलको एकल बहुमत छैन। नेपाली कांग्रेस २७ सिटसहित सबैभन्दा ठूलो दल हो भने एमालेसँग २२ सिट छन्।

कांग्रेस नेतृत्वको सरकारलाई बहुमत कायम राख्न राप्रपाका दुई र नेसपाका एक सांसदको समर्थन प्राप्त छ। यी दुवै दलले हालसम्म मुख्यमन्त्री पाण्डे नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएका छैनन्।

यता, एमालेको नेतृत्वमा सरकार बनाउन नेकपा सभामुखबाहेकका ६ सांसद र राप्रपाका दुई सांसदको समर्थन आवश्यक पर्छ। एमाले र नेकपाबीच सत्ता सहकार्य गर्ने सहमति बने पनि राप्रपाले नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छैन।

यसकारण एमाले–नेकपा गठबन्धनसँग मात्र सरकार गठनका लागि आवश्यक बहुमत पुग्दैन। राप्रपाले तत्काल नयाँ गठबन्धनलाई समर्थन नगर्ने अडान लिएपछि एमाले नेता खगराज अधिकारीका लागि गण्डकीको मुख्यमन्त्री बन्ने बाटो थप कठिन बनेको छ।

यसअघि कांग्रेस र एमालेबीच भएको सहमतिअनुसार २०८३ असार मसान्तपछि मुख्यमन्त्री पाण्डेले एमाले नेता खगराज अधिकारीलाई सत्ता हस्तान्तरण गर्नुपर्ने थियो। तर केन्द्रमा विकसित नयाँ राजनीतिक समीकरणका कारण उक्त सहमतिअनुसार सत्ता हस्तान्तरण हुन सकेन।

एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच साउन ९ गते प्रदेश सरकारमा सत्ता भागबन्डा गर्ने सहमति बनेपछि गण्डकीमा अधिकारीलाई मुख्यमन्त्री बनाउने प्रयास भएको थियो। तर सरकार गठनका लागि राप्रपाको समर्थन अपरिहार्य भएपछि नयाँ समीकरणअनुसार सरकार गठनको सम्भावना तत्काल सहज देखिएको छैन।

एमाले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री पाण्डेले नेसपाका एक मात्र सांसद फणिन्द्र देवकोटालाई मन्त्री नियुक्त गर्ने तयारी गरेको कांग्रेस स्रोतले जनाएको छ।

गण्डकी सरकारबाट एमालेको बहिर्गमनसँगै केन्द्रमा बनेको एमाले–नेकपा सत्ता सहकार्यको प्रभाव प्रदेश सरकारमा पनि देखिन थालेको छ। तर गण्डकीमा नयाँ सत्ता समीकरण निर्माणका लागि आवश्यक बहुमत जुटाउन राप्रपाको भूमिका निर्णायक हुने देखिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend