logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

प्रधानमन्त्री बालेनले कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य रिपोर्ट संसद् सचिवालयमा


  • जन आकाश
  • मंगलबार, भाद्र ९ २०८३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले संसद् बैठकमा उपस्थित हुँदा कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या रहेको भन्दै मेडिकल रिपोर्टसहितको पत्र संसद् सचिवालयमा पेस गरेका छन्।



संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले प्रधानमन्त्रीलाई कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य अवस्था रहेको मेडिकल रिपोर्टसहितको पत्र प्राप्त भएको पुष्टि गरेका छन्।

‘प्रधानमन्त्रीज्यूले कालो चस्मा लगाउनैपर्ने बाध्यता रहेको मेडिकल रिपोर्टसहितको पत्र संसद् सचिवालयमा आएको छ,’ प्रवक्ता गिरीले बताए।

यसअघि गत साउन २० गते बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा सभामुख डोलप्रसाद अर्याल (डीपी) ले संसद् बैठकमा सांसदहरूले कालो चस्मा लगाउने गरेको विषयमा पटक–पटक प्रश्न उठ्ने गरेको भन्दै अबदेखि संसद् बैठकमा कालो चस्मा लगाउन नपाइने बताएका थिए।

सभामुख अर्यालले कुनै सांसद वा पदाधिकारीलाई स्वास्थ्य समस्याका कारण कालो चस्मा लगाउनैपर्ने अवस्था भए त्यससम्बन्धी स्वास्थ्य परीक्षणको रिपोर्ट पेस गर्नुपर्ने बताएका थिए।

सोही व्यवस्थाअनुसार प्रधानमन्त्री शाहले आफूलाई कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या रहेको जनाउँदै मेडिकल रिपोर्टसहितको पत्र संसद् सचिवालयमा बुझाएका हुन्।

तर, प्रधानमन्त्री शाहलाई त्यस्तो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या के हो भन्नेबारे संसद् सचिवालयले खुलाएको छैन।

यस विषयमा संसद् सचिवालयका प्रवक्ता गिरीले स्वास्थ्य समस्याको विवरण सार्वजनिक नगरी कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य रिपोर्टसहितको पत्र प्राप्त भएको मात्रै जानकारी दिए।

प्रधानमन्त्री शाह बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदैछन्। प्रश्नोत्तर कार्यक्रमको अघिल्लो दिन प्रधानमन्त्रीले संसद् बैठकमा कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य बाध्यता रहेको विवरण सार्वजनिक भएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend