logo मंगलबार, भाद्र ९ २०८३ | Tuesday 25th August 2026

राप्रपाका तीन सांसदलाई पदमुक्त गर्ने पत्र ‘फेक’ हो कि : कमल थापा


  • जन आकाश
  • मंगलबार, भाद्र ९ २०८३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष कमल थापाले बागमती प्रदेशमा मन्त्री रहेका तीन सांसदलाई पार्टीले गरेको कारबाहीसम्बन्धी पत्र ‘नक्कली’ हुनसक्ने टिप्पणी गरेका छन्।



राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भदौ ८ गते बागमती प्रदेशकी उपसभामुखलाई पत्र पठाउँदै पार्टीका तीन सांसद पदमुक्त भएको जानकारी गराएका थिए। उक्त पत्रलाई पूर्वअध्यक्ष थापाले सामाजिक सञ्जालमार्फत प्रश्न उठाउँदै ‘फेक’ हुनसक्ने बताएका हुन्।

अध्यक्ष लिङ्देनले पठाएको पत्र फेसबुकमा सार्वजनिक गर्दै थापाले गत भदौ ४ गतेपछि राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको कुनै बैठक नबसेको दाबी गरेका छन्।

‘गत भदौ ४ गतेपछि राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको कुनै बैठक बसेको छैन। यस्तो अवस्थामा यो निर्णय कसरी आयो, म आश्चर्यचकित भएको छु,’ थापाले लेखेका छन्।

उनले कारबाहीको निर्णय भएको पत्रमा बैठक बसेको मिति उल्लेख नभएको भन्दै पत्रको आधिकारिकतामाथि समेत प्रश्न उठाएका छन्।

‘यो पत्रमा कुन मितिमा बैठक बसेको हो भन्ने उल्लेख नभएको हुँदा “फेक” हो कि भन्ने पनि लाग्छ। यो सत्य नहोस्,’ थापाले भनेका छन्।

बागमती प्रदेश सरकारलाई समर्थन गर्ने तथा सरकारमा सहभागी हुने विषयमा राप्रपाभित्र लामो समयदेखि मतभेद देखिँदै आएको छ। पूर्वअध्यक्ष थापा पक्ष भने बागमती प्रदेश सरकारमा सहभागी भए पनि हुने पक्षमा उभिएको थियो।

यसअघि बागमती प्रदेशसभामा राप्रपा संसदीय दलका नेता उद्धव थापामाथि पार्टीले गरेको कारबाहीप्रति पनि कमल थापाले असहमति जनाएका थिए।

बागमती प्रदेशसभामा राप्रपाका १२ सांसद छन्। तीमध्ये पार्टीले हालसम्म चार जना सांसदलाई पदमुक्त गरिसकेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend