logo बिहिबार, भाद्र ११ २०८३ | Thursday 27th August 2026

कुमारी बैंकद्वारा विपद् प्रभावितका लागि ३ करोडसहित राहत सामग्री सहयोग


  • जन आकाश
  • बिहिबार, भाद्र ११ २०८३

काठमाडौं। कुमारी बैंकले बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापना कार्यका लागि आर्थिक तथा जिन्सी सहयोग गरेको छ।



बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ३ करोड रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ।

त्यसैगरी, विपद् प्रभावित क्षेत्रमा खोज, उद्धार तथा अनुगमन कार्यलाई थप प्रभावकारी बनाउन बैंकले करिब ३९ लाख रुपैयाँ बराबरका ५ वटा अत्याधुनिक एआई जडित निगरानी ड्रोन, ३ वटा ५ केभीए क्षमताका पोर्टेबल जेनेरेटर र १०० वटा पावर बैंक उपलब्ध गराएको छ। उक्त सामग्री नेपाली सेनाको नुवाकोटस्थित क्याम्पमा हस्तान्तरणका लागि पठाइएको बैंकले जनाएको छ।

रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायतका जिल्लामा प्रभावित परिवारलाई राहत, खाद्यान्न, अस्थायी आश्रय तथा अन्य आवश्यक मानवीय सहायता उपलब्ध गराउने उद्देश्यले नेपाल सरकारसँग समन्वय गरी सहयोग गरिएको बैंकको भनाइ छ।

कुमारी बैंकले विपद् तथा मानवीय संकटका समयमा समुदायप्रतिको सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै आएको जनाएको छ। बैंकका अनुसार उक्त सहयोगले विपद् प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा थप सहयोग पुग्ने विश्वास गरिएको छ।

विपद्को कठिन घडीमा बैंकले प्रभावित समुदायप्रति गहिरो दुःख व्यक्त गर्दै सम्बन्धित निकायलाई राहत, उद्धार तथा पुनर्स्थापना कार्यलाई थप प्रभावकारी रूपमा अघि बढाउन आग्रह गरेको छ। साथै, बैंकले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ताहरूको सुरक्षित खोज तथा उद्धारको कामना गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend