जन आकाश
काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि ५ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।
बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायत नदी तटीय क्षेत्रमा व्यापक कटान र डुबान हुँदा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ।
बाढीको तीव्र बहावका कारण ठूलो संख्यामा नागरिकले ज्यान गुमाएका छन् भने कैयौँ बेपत्ता भएका छन्। सयौँ परिवार घरबारविहीन भई विस्थापित हुनुपरेको छ। बाढीले स्थानीय बस्ती, पुल, सडक सञ्जाल तथा जलविद्युत् आयोजनामा समेत ठूलो क्षति पुर्याएको बैंकले जनाएको छ।
बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बैंकले शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ। साथै, बेपत्ताको खोजी, घाइतेको उपचार, प्रभावितलाई तत्काल खाद्यान्न तथा सुरक्षित बासस्थानको व्यवस्था र क्षतिग्रस्त संरचनाको दीर्घकालीन पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गर्न लागिएको बैंकले जनाएको छ।
ग्लोबल आइएमई बैंकले राष्ट्रिय संकट तथा विपद्को समयमा सामाजिक उत्तरदायित्वलाई नागरिकको पीडामा सहयोग पुर्याउने महत्वपूर्ण दायित्वका रूपमा लिँदै आएको जनाएको छ। यसअघि पनि देशका विभिन्न क्षेत्रमा भएका बाढी, पहिरो, डुबान, भूकम्प तथा महामारीजस्ता विपद्का समयमा बैंकले आर्थिक, भौतिक तथा मानवीय सहायता उपलब्ध गराउँदै आएको छ।
हाल ग्लोबल आइएमई बैंकले ३४१ शाखा कार्यालय, ३६८ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत देश तथा विदेशमा रहेका ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकका अनुसार यी सेवामार्फत कुल एक हजारभन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई सेवा उपलब्ध भइरहेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend