logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

रसुवा बाढीपहिरो प्रभावितका लागि श्रीलंकाले १० लाख अमेरिकी डलर मानवीय सहायता दिने


  • जन आकाश
  • आइतबार, भाद्र १४ २०८३

काठमाडौं । विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नेपालका लागि श्रीलंकाले १० लाख अमेरिकी डलर मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ।



श्रीलंकाको वैदेशिक रोजगार तथा पर्यटन मन्त्रालयले २७ अगस्ट २०२६ मा जारी गरेको प्रेस विज्ञप्तिमार्फत नेपाललाई उक्त आर्थिक सहयोग प्रदान गर्ने जानकारी दिएको हो।

विज्ञप्तिअनुसार, श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले नेपालमा जारी मानवीय तथा राहत कार्यमा सहयोग पुर्‍याउन सरकारका तर्फबाट १० लाख अमेरिकी डलर आर्थिक सहायता उपलब्ध गराउन निर्देशन दिएका छन्।

राष्ट्रपति दिसानायकेले बाढी तथा पहिरोका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै ज्यान गुमाउनेका परिवार, नेपाल सरकार तथा नेपाली जनताप्रति श्रीलंका सरकार र जनताको तर्फबाट हार्दिक समवेदना प्रकट गरेका छन्।

नेपाल र श्रीलंकाबीचको लामो समयदेखिको घनिष्ठ मित्रता र ऐक्यबद्धताको स्मरण गर्दै राष्ट्रपति दिसानायकेले विपद्को यस कठिन घडीमा श्रीलंका नेपाली जनताको साथमा दृढतापूर्वक उभिएको बताएका छन्।

श्रीलंकाले उपलब्ध गराउने उक्त आर्थिक सहयोग बाढी तथा पहिरोबाट प्रभावित समुदायका लागि तत्काल राहत तथा मानवीय सहायता उपलब्ध गराउन प्रयोग गरिने मन्त्रालयले जनाएको छ।

यसैबीच, श्रीलंकाका विदेशमन्त्री विजिथा हेराथले नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँग टेलिफोनमार्फत कुराकानी गरेका छन्। कुराकानीका क्रममा मन्त्री हेराथले बाढीपहिरोबाट प्रभावित नेपालप्रति समवेदना व्यक्त गर्दै श्रीलंकाको निरन्तर समर्थन र ऐक्यबद्धता रहेको बताएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend