जन आकाश
काठमाडौं । तिब्बत क्षेत्रबाट रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ७३४ पुगेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतबार बिहान ९ बजेसम्म विभिन्न जिल्लाबाट बाढीमा परी मृत्यु भएका ७३४ जनाको शव फेला परेको छ।
प्राधिकरणका अनुसार रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा ८२, तनहुँमा ३६ र चितवनमा २५९ जनाको शव फेला परेको हो।
बाढीमा परी अझै २ हजार ४९८ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २७, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका ४ जना छन्।
त्यस्तै, रसुवाका ५६२ र नुवाकोटका ११५ जना पनि सम्पर्कविहीन छन्। विभिन्न जलविद्युत् आयोजनाबाट ९३३ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।
मकवानपुरका ६५ जना, ५९८ जना विदेशी नागरिक, विदेशी पर्यटकसँगै यात्रा गरिरहेका १२७ जना नेपाली नागरिक तथा लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना पनि सम्पर्कविहीन रहेको प्राधिकरणको विवरणमा उल्लेख छ।
बाढीमा परी हालसम्म २४२ जना घाइते भएका छन्। बाढी प्रभावित क्षेत्रमा घाइतेको उपचार तथा स्वास्थ्य सेवा प्रदान गर्न सर्जिकल र मेडिकल टोली परिचालन गरिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार अहिलेसम्म ८ हजार १८६ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये नेपाली सेनाले २ हजार ९७४, नेपाल प्रहरीले २ हजार ६९९ र सशस्त्र प्रहरी बलले २ हजार ५१३ जनाको उद्धार गरेका छन्।
जलविद्युत् आयोजनाका सुरुङबाट भदौ १२ गते १९१ जना र भदौ १३ गते ८८ जना गरी २७९ जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
यसैगरी, हालसम्म २२७ जना विदेशी नागरिकको पनि हेलिकप्टरमार्फत उद्धार गरिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार पहिचान खुल्न नसकेका शवहरू विभिन्न जिल्लाका २१ वटा अस्पतालमा राखिएका छन्। शवको पहिचान तथा आफन्तसम्म पुर्याउने प्रक्रिया अघि बढाइएको जनाइएको छ।
बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिइएको छ। आइतबार सुरक्षातर्फ नेपाल प्रहरीका ७ हजार २९३, नेपाली सेनाका ८ हजार ३९९ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ गरी कुल १९ हजार ८९५ सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend