logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

बाढीपीडितका लागि काठमाडौं महानगरले साढे ४ करोडभन्दा बढी सहयोग गर्ने


  • जन आकाश
  • आइतबार, भाद्र १४ २०८३

काठमाडौं । काठमाडौं महानगरपालिकाले भोटेकोशी–त्रिशूलीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा विपद् व्यवस्थापन, उद्धार, राहत र पुनर्स्थापनाका लागि ४ करोड ५४ लाख १४ हजार ७८७ रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।



बाढीबाट भएको क्षति व्यवस्थापनमा महानगरपालिकाको सहयोगबारे छलफल गर्न शनिबार बसेको कार्यपालिका बैठकले उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो।

कार्यवाहक मेयर सुनीता डंगोलका अनुसार आर्थिक सहयोगसँगै महानगरपालिकाले उद्धार, राहत, स्वास्थ्य उपचार तथा पुनर्स्थापनाका विभिन्न कार्यक्रम अघि बढाउनेछ।

कार्यपालिका बैठकले बाढीबाट विस्थापित नागरिकका लागि खाद्यान्न, लत्ताकपडा, इन्डक्सन, भाँडाकुँडा, पिउने पानी, त्रिपाल, कम्बल, ग्यास सिलिन्डर, एम्बुलेन्स, यातायातका साधन, शववाहन, एक्स्काभेटर तथा जेट मेसिनलगायत आवश्यक सामग्री र उपकरण व्यवस्थापनको जिम्मेवारी विपद् व्यवस्थापन समितिलाई दिने निर्णय गरेको छ।

महानगरका अनुसार उद्धार, राहत तथा पुनर्स्थापनाका लागि आवश्यक सामग्रीसँगै जनशक्ति व्यवस्थापनमा पनि सहयोग गरिनेछ।

घोषित सहयोग रकममध्ये ३ करोड रुपैयाँ महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट उपलब्ध गराइनेछ। बाँकी रकम जनप्रतिनिधि, पदाधिकारी तथा कर्मचारीको पारिश्रमिक र सुविधाबाट संकलन गरिनेछ। कार्यपालिका सदस्यहरूले एक महिनाको तलब तथा सुविधाबापत प्राप्त हुने रकम विपद् कोषमा जम्मा गर्नेछन्। वडा सदस्यहरूको पाँच दिनको तलब, सहरी योजना आयोगका उपाध्यक्ष, सदस्य तथा सहायक विज्ञको सात दिन बराबरको पारिश्रमिक तथा सुविधा रकम पनि कोषमा जम्मा गरिनेछ।

त्यस्तै, महानगरपालिकामा कार्यरत अधिकृतस्तरका कर्मचारीको सात दिन, सहायकस्तरका कर्मचारीको पाँच दिन र श्रेणीविहीन कर्मचारीको दुई दिन बराबरको पारिश्रमिक रकम विपद् कोषमा जम्मा गरिनेछ।

कार्यवाहक मेयर डंगोलले बाढीबाट विस्थापित नागरिकलाई जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा सार्नुका साथै सहज जीवनयापनका लागि पुनर्स्थापना गर्नु महानगरको मुख्य उद्देश्य रहेको बताइन्।

उनले प्रभावित क्षेत्रका काठमाडौंमा बसेर अध्ययन गरिरहेका विद्यार्थीलाई सहयोग गर्नुका साथै काठमाडौंका अस्पतालमा कुरुवा वा सहयोगी नभएका घाइते तथा बिरामीको हेरचाहका लागि स्वयंसेवक परिचालन गर्ने तयारी भइरहेको जानकारी दिइन्।

“संकटको यो घडीमा परिवार र आफन्त गुमाएका व्यक्तिका लागि काठमाडौं महानगर सहारा बन्नेछ,” डंगोलले भनिन्।

महानगरपालिकाले बाढी प्रभावित महानगरवासीको लगत संकलन, तत्काल उद्धार तथा सहयोग उपलब्ध गराउने उद्देश्यले राष्ट्रिय सभागृहमा सहायता कक्ष तथा सूचना केन्द्र सञ्चालन गर्ने भएको छ।

सबै वडा कार्यालयबाट प्रभावित नागरिकसम्बन्धी सूचना तथा विवरण संकलन गर्न महानगरको सूचना तथा प्रविधि विभागलाई निर्देशन दिइएको छ।

महानगरले स्थानीयवासी, व्यवसायी, उद्योगी तथा पेसाकर्मीलाई आफ्नो सामर्थ्यअनुसार विपद् व्यवस्थापनमा सहयोग गर्नसमेत अपिल गरेको छ।

काठमाडौं महानगरपालिकाले बाढी प्रभावित क्षेत्रमा अलपत्र परेका यात्रुको स्थलमार्गबाट उद्धार गर्न निःशुल्क यातायात सेवा पनि सुरु गरेको छ।

शुक्रबार एउटा सवारीसाधनबाट सुरु गरिएको सेवा शनिबारदेखि दुईवटा गाडीमार्फत सञ्चालन गरिएको हो। शनिबार पहिलो दिन दुई बालबालिका, नौ महिला र आठ पुरुष गरी १९ जनालाई काठमाडौं ल्याइएको महानगरले जनाएको छ।

यो सेवा नुवाकोटको विदुर नगरपालिकादेखि काठमाडौंसम्म सञ्चालन हुनेछ। रसुवा, नुवाकोटलगायत बाढी प्रभावित क्षेत्रमा कामका सिलसिलामा पुगेर अलपत्र परेका व्यक्तिका साथै प्रभावित क्षेत्रमा आफन्त खोज्न जानुपर्ने व्यक्तिले पनि सेवा प्रयोग गर्न सक्नेछन्।

दुवै सवारीसाधनले दिनमा दुईपटक यात्रु ओसार्नेछन्। एउटा १९ सिट क्षमताको र अर्को १० सिट क्षमताको रहेको महानगरले जनाएको छ। यात्रुले सहजै पहिचान गर्न सकून् भनेर दुवै गाडीको अगाडि र पछाडि महानगरको ब्यानर राखिएको छ भने सुरक्षाका लागि नगर प्रहरीसमेत परिचालन गरिएको छ।

आवश्यकताअनुसार सवारीसाधनको संख्या थप गर्न सकिने महानगरपालिकाले जनाएको छ।महानगरपालिकाले बाढी प्रभावित क्षेत्रमा शव व्यवस्थापनका लागि चारवटा शववाहन नुवाकोट पठाएको छ। तीमध्ये एउटा शववाहनले त्रिशूली सैनिक तालिम केन्द्रबाट चार पुरुष र एक महिलाको शव गरी पाँचवटा शव काठमाडौं ल्याएको महानगरले जनाएको छ।

काठमाडौं ल्याइएका शव महाराजगन्जस्थित शिक्षण अस्पतालमा बुझाइनेछ।महानगरपालिकाले सूर्यविनायक नगरपालिका, छत्रपाटी निःशुल्क चिकित्सालय, मनमोहन मेमोरियल कलेज तथा शिक्षण अस्पताल र भक्तपुर क्यान्सर अस्पतालसँग समन्वय गरी शववाहन परिचालन गरेको जनाएको छ।

कार्यवाहक मेयर डंगोलले विपद्को दुःखलाई केवल समाचारका रूपमा हेरेर बस्नुभन्दा सबैले आफ्नो क्षमताअनुसार उद्धार, राहत, यातायात तथा स्वास्थ्य सेवामार्फत सहयोग गर्न आग्रह गरेकी छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend