logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

बाढीपहिरो प्रभावित नेपाललाई भारतको थप सहयोग, ११ टन राहत सामग्रीसहित चौथो विमान आइपुग्यो


  • जन आकाश
  • आइतबार, भाद्र १४ २०८३

काठमाडौं । भारतले नेपालको बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहत कार्यका लागि थप सहयोग उपलब्ध गराएको छ।



भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले ११ टन राहत सामग्री र प्राविधिक टोलीसहितको चौथो विमान नेपालतर्फ प्रस्थान गरेको जानकारी दिएका छन्। उनले आइतबार बिहान सामाजिक सञ्जालमार्फत नेपालमा भइरहेको राहत तथा उद्धार प्रयासमा भारतको निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

भारतीय वायुसेनाको सी–१३० विमानमार्फत विपद् व्यवस्थापन तथा खोजी–उद्धार कार्यका लागि आवश्यक उपकरणसहित सुरुङ (टनेल) प्राविधिक टोली पनि नेपाल आइपुगेको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ।

त्यस्तै, शव पहिचानका लागि डीएनए विश्लेषण गर्न आवश्यक उपकरणसहित फरेन्सिक विशेषज्ञहरूको टोली पनि नेपाल आएको छ।

दूतावासका अनुसार भारतले ब्ल्याङ्केट, स्लिपिङ ब्याग, त्रिपाल, प्लास्टिक सिट तथा सरसफाइका सामग्रीलगायत राहत सामग्री पनि पठाएको छ। यो भारतले नेपाल पठाएको चौथो खेपको सहायता हो।

बाढीपहिरोका कारण सडक तथा पुलमा क्षति पुगेपछि यातायात सेवा प्रभावित भएको अवस्थामा भारतले यातायात पूर्वाधार सञ्चालनमा सहयोग पुग्ने सामग्रीसमेत नेपाल पठाएको छ।

विदेशमन्त्री जयशंकरका अनुसार २३० फिट लामो सिंगल लेन मोड्युलर स्टिल ब्रिज निर्माणका लागि आवश्यक उपकरण बोकेका १६ वटा ट्रक नेपालतर्फ प्रस्थान गरिसकेका छन्।

यसका साथै थप सातवटा बेली ब्रिजका उपकरण तथा ती जडान गर्ने प्राविधिक टोली पनि छिट्टै नेपाल आइपुग्ने उनले बताएका छन्।

भारतले बाढीपहिरो प्रभावित नेपालका लागि हालसम्म ६८.५ टन राहत सामग्री हवाईमार्गबाट काठमाडौं ल्याइसकेको जनाएको छ।

यसअघि पठाइएका राहत सामग्रीमा अत्यावश्यक औषधि, पोर्टेबल जेनेरेटर, तयारी खानाका प्याकेट, पानी शुद्धीकरण गर्ने ट्याब्लेट तथा अन्य प्राविधिक उपकरण समावेश छन्।

भारतले खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि आवश्यक सहयोगलाई निरन्तरता दिने जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend