logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

मुग्लिन–काठमाडौं सडक बन्द भए पनि इन्धन आपूर्तिमा समस्या नहुने निगमको दाबी


  • जन आकाश
  • आइतबार, भाद्र १४ २०८३

काठमाडौं । राजधानी प्रवेश गर्ने मुख्य राजमार्ग मुग्लिन–काठमाडौं सडकखण्ड अवरुद्ध भएपछि अत्यावश्यक सामग्री तथा पेट्रोलियम पदार्थको आपूर्ति प्रभावित हुने आशंका बढिरहेका बेला नेपाल आयल निगमले इन्धन आपूर्तिमा कुनै समस्या नहुने जनाएको छ।



धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित कृष्णभीर नजिक त्रिशूली नदीले सडकको तल्लो भाग कटान गरेपछि सडक भासिएर मुग्लिन–काठमाडौं सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको हो।

राजमार्ग अवरुद्ध भएपछि निगमले वैकल्पिक मार्गमार्फत पेट्रोलियम पदार्थ तथा खाना पकाउने एलपी ग्यास काठमाडौं ल्याउने तयारी थालेको छ।

निगमका कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार मकवानपुरको हेटौंडा हुँदै वैकल्पिक मार्ग प्रयोग गरी इन्धन तथा ग्यास काठमाडौं ल्याइनेछ।

“मकवानपुरको बाटो हुँदै इन्धन र ग्यास ढुवानी गर्दैछौं,” साहले भने, “ग्यासका धेरैजसो प्लान्ट तराईमै भएकाले त्यहाँबाट ग्यास लोड गरेर वैकल्पिक मार्ग हुँदै काठमाडौं ल्याउँछौं।”

उनका अनुसार काठमाडौंका लागि इन्धन आपूर्तिको मुख्य ‘ब्याकअप’ अमलेखगञ्ज डिपो हो। पाइपलाइनमार्फत अमलेखगञ्जमा पर्याप्त मात्रामा पेट्रोलियम पदार्थ आउने भएकाले त्यहाँबाट काठमाडौंमा नियमित आपूर्ति गर्न सकिने निगमको भनाइ छ।

“पाइपलाइनबाट हामीले चाहेजति तेल आइरहेको छ,” साहले भने, “अमलेखगञ्जबाट निजी ढुवानीकर्ता तथा डिलरका २० हजार लिटर र १२ हजार लिटर क्षमताका साना ट्यांकर प्रयोग गरेर इन्धन काठमाडौं ल्याउँछौं।”

सडक अवरुद्ध हुँदा आपूर्ति शृंखलामा केही घण्टा ढिलाइ हुन सक्ने भए पनि बजारमा इन्धन अभाव नहुने उनले स्पष्ट पारे।

यसअघि केही दिनदेखिको अविरल वर्षाका कारण रोकिएका अधिकांश इन्धन ट्यांकर शनिबार नै काठमाडौं भित्रिसकेकाले तत्काल बजारमा पेट्रोलियम पदार्थको कमी नहुने निगमले जनाएको छ।

सडक बन्द भएको खबरपछि बजारमा इन्धन नपाइने हो कि भन्ने त्रास फैलिन सक्ने भन्दै निगमले उपभोक्तालाई अनावश्यक रूपमा इन्धन सञ्चित नगर्न र ढुक्क रहन आग्रह गरेको छ।

“आपूर्ति सहज रूपमा भइरहेको छ र हामीले वैकल्पिक व्यवस्था गरिसकेका छौं,” साहले भने, “सबैलाई आश्वस्त हुन आग्रह गर्दछु।”

यसैबीच, अवरुद्ध सडकखण्ड खुलाउने तथा वैकल्पिक व्यवस्थाबारे सरकारले आवश्यक अध्ययन गरिरहेको जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend