जन आकाश
काठमाडौं । बुधबार आएको विनाशकारी बाढीमा परी सम्पर्कविहीन भएका झन्डै २५ सय जनाको खोजी कार्य जारी छ। तीनवटै सुरक्षा निकायबाट ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी बेपत्ताको खोजी भइरहेको हो।
तिब्बत क्षेत्रबाट रसुवाको त्रिशूली हुँदै नारायणी नदीसम्म आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। बाढीमा बगेका कतिपय शव नवलपरासी पश्चिमसम्म पुगेका छन्।
यसैबीच, चितवनको गोलाघाट क्षेत्रमा आइतबार बिहानदेखि खोजी कार्यलाई तीव्र पारिएको छ। नेपाली सेनाको गोरख गणबाट खटिएको टोलीले गोलाघाटस्थित त्रिशूली र राप्ती नदीको दोभानमा बेपत्ताको खोजी सुरु गरेको हो।
बाढी आएको सुरुवाती दिनदेखि नै गोरख गणले उक्त क्षेत्रमा खोजी कार्य सञ्चालन गर्दै आएको छ। पछिल्लो समय खोजीलाई प्रभावकारी बनाउन वाटरबोट र ड्रोनसमेत प्रयोग गरिएको छ।
त्रिशूली र राप्ती नदीको दोभान भएकाले बाढीमा बगेका शव तथा बेपत्ता व्यक्ति त्यहाँ जम्मा भएको हुन सक्ने सम्भावना बढी रहेको भन्दै खोजी कार्य तीव्र पारिएको राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वनका अध्यक्ष तथा चितवन गोलाघाट पर्यटन विकास समितिका अध्यक्ष विशाल कुमालले बताए।
उनका अनुसार बिहानीपख रसुवा क्षेत्रमा पुनः बाढीको बहाव बढेको सूचना आएपछि केही समय खोजी कार्य रोकिएको थियो। नदीको बहाव घटेपछि तटीय क्षेत्रमा पुनः खोजी कार्य सुरु गरिएको हो।
सुरक्षा निकायले नदी तथा तटीय क्षेत्रमा खोजी कार्यलाई निरन्तरता दिँदै बेपत्ता भएकाहरूको अवस्था पत्ता लगाउने प्रयास गरिरहेको जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend