logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

रसुवा बाढीका घाइतेमध्ये ७५ जना अझै विभिन्न अस्पतालमा उपचाररत


  • जन आकाश
  • आइतबार, भाद्र १४ २०८३

काठमाडौं । रसुवामा आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावितमध्ये ७५ जना विभिन्न अस्पतालमा उपचाररत छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार बाढीमा परी घाइते तथा बिरामी भएका २४२ जनालाई विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि भर्ना गरिएको थियो।



स्वास्थ्य मन्त्रालयको स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन इकाइका अनुसार उपचार गराइरहेका मध्ये १३५ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्। बाढीका कारण हालसम्म तीन जनाको मृत्यु भएको पुष्टि भएको छ। तीमध्ये एक जनालाई अस्पताल पुर्‍याउँदा नै चिकित्सकले मृत घोषणा गरेका थिए।

काठमाडौं उपत्यकाबाहिरका स्वास्थ्य संस्थामध्ये रसुवा जिल्ला अस्पताल, धुन्चेमा सबैभन्दा बढी ७६ जना बिरामी भर्ना भएका थिए। तीमध्ये २७ जनालाई थप उपचारका लागि अन्य अस्पतालमा रिफर गरिएको छ भने ४८ जना उपचारपछि डिस्चार्ज भएका छन्।

नुवाकोटस्थित त्रिशूली अस्पतालमा भर्ना भएका १८ जनामध्ये १४ जना उपचारपछि घर फर्किएका छन्। त्यस्तै, आयुर्वेद अस्पताल पिपलटारमा भर्ना भएका १६ जनामध्ये १४ जना अझै उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

उपत्यकाबाहिरका विभिन्न अस्पतालबाट थप उपचार आवश्यक परेका कुल २९ जना घाइतेलाई सुविधासम्पन्न अस्पतालमा रिफर गरिएको छ।काठमाडौं उपत्यकाका १३ वटा प्रमुख अस्पतालमा बाढी प्रभावित घाइते तथा बिरामीलाई भर्ना गरी उपचार भइरहेको छ।

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा ५४ जना र राष्ट्रिय ट्रमा सेन्टरमा ४३ जना बिरामी भर्ना भएका छन् त्यस्तै, वीर अस्पतालमा १५ जना र नेपाल एपीएफ अस्पताल, बलम्बुमा ६ जना घाइतेको उपचार भइरहेको छ।

नर्भिक, ग्रान्डी, ह्याम्स, ग्रिनसिटी, शुभम इन्टरनेसनल हस्पिटल मनमैजु, मनमोहन मेमोरियल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा वीरेन्द्र अस्पताललगायतका स्वास्थ्य संस्थामा पनि बाढी प्रभावित घाइतेको उपचार भइरहेको मन्त्रालयले जनाएको छ।स्वास्थ्य मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा तथा उपचार व्यवस्थापनलाई निरन्तरता दिइरहेको जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend