logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

चीनले नेपाललाई ५० टन आपत्कालीन राहत सामग्री पठायो, सुरुङ उद्धार विशेषज्ञ पनि आए


  • जन आकाश
  • आइतबार, भाद्र १४ २०८३

काठमाडौं । चीन सरकारले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकका लागि ५० टन आपत्कालीन राहत सामग्री उपलब्ध गराएको छ। चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुईवटा वाई–२० ठूला ट्रान्सपोर्ट विमान आइतबार बिहान करिब ७ बजे राहत सामग्री लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।



काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार राहत सामग्रीसँगै चार जना चिनियाँ सुरुङ उद्धार विशेषज्ञ पनि आवश्यक उद्धार उपकरणसहित नेपाल आइपुगेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित समारोहबीच चिनियाँ पक्षले राहत सामग्री हस्तान्तरण गरेको हो। हस्तान्तरण समारोहमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन, नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ तथा प्रतिनिधिसभा सदस्य धर्म केसीको उपस्थिति थियो। सो अवसरमा उनीहरूले नेपाल आएका चिनियाँ उद्धार विशेषज्ञलाई स्वागत गरेका थिए।

चीनको छङ्दुस्थित सुवाङलिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेका दुवै विमान करिब तीन घण्टाको उडानपछि काठमाडौं आइपुगेका हुन्। दूतावासका अनुसार ती विमानमा कुल ५० टन तौल बराबरका १३ हजार २०० थान आपत्कालीन राहत सामग्री ल्याइएको छ।

बाढीपहिरो प्रभावितका लागि ल्याइएका राहत सामग्रीमा त्रिपाल, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, ड्राइफुड, बिस्कुट तथा प्राथमिक उपचार किटलगायत सामग्री छन्। नेपाल–चीन सीमा क्षेत्रसहित देशका विभिन्न भागमा आएको विनाशकारी बाढी तथा पहिरोपछि उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले चीनले आपत्कालीन राहत सामग्री र विशेषज्ञ टोली नेपाल पठाएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend