जन आकाश
काठमाडौं । भोटेकोसीमा आएको बाढीपछि नारायणी नदीमा बढेको बहावका कारण पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका क्षेत्रमा डुबान र कटानको समस्या थप गम्भीर बनेको छ। निरन्तरको वर्षासँगै नारायणीको बहाव बढेपछि सुस्ताका आधा दर्जनभन्दा बढी टोलका करिब १५० घर डुबानमा परेका छन्।
गत १० गते बिहान भोटेकोसीमा आएको बाढी गण्डक बाँध हुँदै सोही दिन साँझ सुस्ता पुगेको स्थानीयले बताएका छन्। साउन लागेदेखि नै नारायणी नदीले तटबन्ध कटान गर्दै बस्तीमा डुबान गराउँदै आएको थियो। त्यसैमाथि नदीको बहाव थप बढेपछि सुस्ताका विभिन्न बस्ती डुबानमा परेका हुन्।
स्थानीय मुन्सीकुमार हरिजनका अनुसार गत बिहीबार साँझदेखि थारु टोल, सैनिक टोल, बड्की टोल र क्याम्प टोललगायतका क्षेत्रमा करिब १५० घर डुबानमा परेका छन्। घर डुबानमा परेपछि प्रभावित परिवार अग्लो स्थानमा रहेका छिमेकीका घरमा आश्रय लिएर बसेका छन्।
स्थानीय सामुदायिक विपद् व्यवस्थापन समितिले नारायणीमा बाढीको जोखिम अझै कायम रहेको भन्दै सर्वसाधारणलाई सुरक्षित स्थानमा जान आग्रह गर्दै माइकिङ गरिरहेको छ। समितिका कमलप्रसाद हरिजनका अनुसार सम्भावित क्षति र जोखिमलाई मध्यनजर गर्दै सर्वसाधारण तथा घरभित्रका सामान सुरक्षित स्थानमा सार्न समितिले सहयोग गरिरहेको छ। नारायणी नदी किनारको करिब एक किलोमिटर क्षेत्रमा पक्की तटबन्ध निर्माण गरिएको भए पनि त्यससँग जोडिएको पूर्वतर्फको १३२ मिटर क्षेत्रमा भने अझै तटबन्ध निर्माण हुन सकेको छैन।
नारायणी सिँचाइ तथा जल उत्पन्न प्रकोप व्यवस्थापन आयोजना, भरतपुरले उक्त क्षेत्रमा तटबन्ध निर्माणका लागि ठेक्का लगाए पनि भारतीय सीमा सुरक्षा बल ९एसएसबी० ले अवरोध गरेपछि काम अघि बढ्न नसकेको स्थानीयको भनाइ छ। नदीको कटान बस्तीतर्फ बढ्दै गएपछि गत साउन १५ गते स्थानीयले बस्ती र जमिन जोगाउन बोरामा बालुवा भरेर अस्थायी बाँध निर्माण गरेका थिए। तर, उक्त अस्थायी बाँधसमेत भारतीय एसएसबीले भत्काइदिएको स्थानीयको आरोप छ।
त्यसपछि निरन्तरको बाढीका कारण जमिन कटान हुन थालेपछि सुरक्षाकर्मीको सहयोगमा स्थानीयले पुनः अस्थायी बाँध निर्माण गरेका थिए। तर, निरन्तरको वर्षा र नारायणीमा बढेको बहावले उक्त अस्थायी बाँधसमेत कटान गरेको छ। स्थानीय मुन्सीकुमार हरिजनका अनुसार अधिकांश अस्थायी बाँध नदीले बगाइसकेको छ। सुस्तामा हाल करिब ३५० घरधुरीमा तीन हजार दुई सयभन्दा बढी नेपालीको बसोबास रहेको स्थानीयको भनाइ छ। २०३४ सालमा नारायणी नदीमा आएको भीषण बाढी र डुबानपछि सुस्ताका २४५ घरधुरीलाई नारायणीवारि त्रिवेणी आसपासका साहुमारा, केउलानीलगायतका स्थानमा स्थानान्तरण गरिएको थियो।
तर, केही परिवार आफ्नो थातथलो छाड्न तयार भएनन् र सुस्तामै बस्दै आएका छन्। नारायणी नदीको कटान र डुबानका कारण बस्ती स्थानान्तरण भएपछि सुस्ताको जमिनमा भारतीय पक्षबाट अतिक्रमण सुरु भएको स्थानीयको दाबी छ। सुस्तामा नेपाल–भारत सीमा स्तम्भ नराखी एउटा सानो सडकलाई नै सीमाका रूपमा मानिँदै आएको र नारायणी नदीले पटक–पटक धार परिवर्तन गरेपछि सीमा तथा जमिन छुट्याउने समस्या थप जटिल बनेको स्थानीय बताउँछन्।
सन् १८१६ मा भएको सुगौली सन्धिअनुसार नवलपरासीको नारायणी नदीको पूर्वी भाग भारत र पश्चिमी भाग नेपालमा पर्ने गरी सीमा निर्धारण गरिएको थियो। तर, समयक्रममा नारायणी नदीले धार परिवर्तन गर्दै पश्चिमतर्फ सरेपछि नेपाली भूभाग नदीपारि परेको स्थानीयको भनाइ छ। त्यसपछि नदीपारिको नेपाली जमिनमाथि भारतीय पक्षबाट अतिक्रमण हुँदै आएको उनीहरूको दाबी छ।
सन् १९७२ देखि २०१६ को अवधिमा पटक–पटक आएको बाढी र नदी कटानका कारण नारायणीले धार परिवर्तन गरेपछि नेपाली भूमिमा भारतीय अतिक्रमण बढेको स्थानीयको भनाइ छ।
स्थानीयका अनुसार सुगौली सन्धिको समयमा सुस्तासँग करिब ४० हजार ९८० हेक्टर जमिन रहेकोमा अहिले करिब सात हजार हेक्टर जमिन मात्रै नेपालीले भोगचलन गर्दै आएका छन्। स्थानीय मुन्सीकुमार हरिजनका अनुसार २०६२ सालदेखि भारतीय पक्षबाट सुस्तावासीमाथि ज्यादती र अतिक्रमण बढ्दै आएको छ। उनका अनुसार हालसम्म करिब १४ हजार ५०० हेक्टर नेपाली भूमि अतिक्रमणमा परेको छ।
त्यस्तै, टुटनवा र नारायणी नदीतर्फको करिब १९ हजार ४८० हेक्टर जमिन विवादित रहेको भन्दै स्थानीयलाई भोगचलन गर्न नदिइएको र लामो समयदेखि उक्त क्षेत्र बाँझो अवस्थामा रहेको स्थानीयको दाबी छ। बाढी, नदी कटान र सीमा विवादको दोहोरो मारमा परेको सुस्तामा पछिल्लो बाढीले स्थानीयको जनजीवन थप प्रभावित बनेको छ। नदीको बहाव अझै बढ्न सक्ने जोखिम रहेकाले स्थानीय प्रशासन तथा विपद् व्यवस्थापन निकायले प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा स्थानान्तरण हुन आग्रह गरेका छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend