जन आकाश
काठमाडौं । नेपाली कांग्रेसले बाढीपीडितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषमा रु. १ करोड सहयोग गर्ने निर्णय गरेको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सभापति गगन थापाको उपस्थितिमा आज बसेको बैठकले पार्टीका तर्फबाट एकमुष्ट रूपमा उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको हो।
बैठकपछि पार्टीका प्रवक्ता देवराज चालीसेले बाढीपीडितको सहयोगका लागि रु. १ करोड राहत कोषमा जम्मा गर्ने निर्णय भएको जानकारी दिए। उनका अनुसार पार्टीका तहगत कार्यसमिति, जनसम्पर्क समिति, भ्रातृ संघ तथा शुभेच्छुक संस्था र पार्टीका सदस्यहरूलाई पार्टीको विपद् कोषमा सहयोग रकम जम्मा गर्न आग्रह गरिएको छ। यसरी संकलन भएको रकमसहित पार्टीका तर्फबाट एकमुष्ट रु. १ करोड नेपाल सरकारको प्रधानमन्त्री विपद् राहत कोषमा जम्मा गरिनेछ।
प्रवक्ता चालीसेले भदौ १० गते भोटेकोसी–त्रिशूली क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यलाई सरकारले थप तीव्रता दिनुपर्ने बताएका छन्। विशेषगरी बाढीपछि सुरुङमा फसेका नागरिकको उद्धारका लागि तत्काल प्रभावकारी प्रयास गर्नुपर्नेमा उनले जोड दिए। खोज तथा उद्धार कार्यलाई परिणाममुखी बनाउनुपर्ने भन्दै आवश्यक परे अन्तर्राष्ट्रियस्तरका विज्ञको सहयोग लिनसमेत सरकारलाई आग्रह गरे।
“सुरुङमा फसेका नागरिकको उद्धारका लागि चाँडोभन्दा चाँडो प्रयास गर्दै तीव्रता दिनुपर्ने आवश्यकता छ। खोज तथा उद्धार परिणाममा केन्द्रित हुनुपर्छ। हाम्रो क्षमताले भ्याएन भने अन्तर्राष्ट्रियस्तरका विज्ञहरूको पनि सहयोग लिनुपर्छ,” उनले भने। चालीसेले बाढीपीडितलाई उपलब्ध गराइने राहत प्रभावकारी र लक्षित बनाउन स्थानीय तहलाई थप जिम्मेवारी दिने विषयमा सरकारले ध्यान दिनुपर्ने बताए। स्थानीय तहलाई परिचालन गर्दा वास्तविक पीडितसम्म राहत छिटो र प्रभावकारी रूपमा पुर्याउन सकिने उनको भनाइ छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend