जन आकाश
काठमाडौं । चीन सरकारले नेपालका बाढीपीडितका लागि रु. ३० करोड नगद सहयोग गरेको छ। नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले आइतबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेट गरी उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्।
अर्थ मन्त्रालयमा भएको भेटका क्रममा चिनियाँ रेडक्रसले उपलब्ध गराएको थप रु. ३ करोड ६ लाख बराबरको नगद सहयोगसमेत हस्तान्तरण गरिएको छ। राहत रकम हस्तान्तरण गर्दै राजदूत माओमिङले हिमालय क्षेत्रमा आएको विपत्तिको सामना नेपाल र चीनले मिलेर गर्ने बताएका छन्। नेपालमा आएको विपत्तिमा चीन सधैं साथमा रहने सन्देश चीनका राष्ट्रपति र प्रधानमन्त्रीले नेपाल सरकारलाई पठाएको उनले जानकारी गराए।
चीनबाट अन्य राहत तथा सहायता सामग्रीसमेत नेपाल भित्रिन सुरु भइसकेको राजदूत माओमिङले बताए। उनका अनुसार आइतबार मात्रै दुईवटा चिनियाँ जहाजमार्फत ५० टन टेन्ट, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, मेडिकल किट र बिस्कुटलगायतका राहत सामग्री काठमाडौं ल्याइएको छ।
रसुवामा आएको बाढीका कारण चीनतर्फ रोकिएका नेपाली नागरिकलाई मुस्ताङको कोरला नाका हुँदै स्वदेश फर्काउन पहल भइरहेको पनि राजदूत माओमिङले जानकारी गराएका छन्।
त्यस्तै, जलविद्युत् कम्पनीको सुरुङमा फसेका नागरिकको उद्धारका लागि चिनियाँ हेलिकप्टरसहित दक्ष जनशक्ति र थप उद्धार प्राविधिकहरू काठमाडौं आइसकेको उनले बताए।
नेपाल सरकारले माग गरेको ठूलो परिमाणका राहत सामग्री बोक्न सक्ने ड्रोन नेपाल ल्याउनका लागि समेत चीनले तीव्र गतिमा काम गरिरहेको राजदूत माओमिङले अर्थमन्त्रीको सचिवालयलाई जानकारी गराएका छन्। चीनको नगद सहयोग, राहत सामग्री तथा उद्धार टोलीको परिचालनले बाढी प्रभावित क्षेत्रमा जारी राहत, उद्धार तथा पुनःस्थापनाको प्रयासमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend