logo सोमबार, भाद्र १५ २०८३ | Monday 31st August 2026

भोटेकोसी बाढीमा ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन


  • जन आकाश
  • सोमबार, भाद्र १५ २०८३

काठमाडौं । भोटेकोसी नदीमा आएको भीषण बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म ९०३ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणले सोमबार बिहान ९ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा अझै ४ हजार २४७ जना सम्पर्कविहीन छन्।



प्राधिकरणका अनुसार हालसम्म सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन्। जिल्लागत विवरणअनुसार रसुवामा २४, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६२, नवलपरासी ९पूर्व०मा २०७, नवलपरासी ९पश्चिम०मा १५१, तनहुँमा ३७ र चितवनमा २७२ वटा शव फेला परेका छन्। सम्पर्कविहीन हुनेमा सुरक्षा निकायका कर्मचारीदेखि स्थानीय बासिन्दा, जलविद्युत् आयोजनाका कर्मचारी तथा विदेशी नागरिकसमेत रहेका छन्।

प्राधिकरणका अनुसार नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५ र सशस्त्र प्रहरी बल नेपालका १३ जना सम्पर्कविहीन छन्। त्यस्तै, भन्सार कार्यालयका १५ तथा अध्यागमन कार्यालयका ३ जना पनि सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।स्थानीयतर्फ रसुवाका ८६५, नुवाकोटका १ हजार ५५८ र मकवानपुरका ६५ जना सम्पर्कविहीन छन्। जलविद्युत् आयोजनासँग सम्बन्धित ९३३ जना पनि अझै सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।

यस्तै, ५९२ जना विदेशी नागरिक, विदेशी पर्यटकसँगै भ्रमणमा गएका १२७ जना नेपाली, लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना तथा क्वारेन्टाइन कार्यालयका ३ जना पनि सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।बेपत्ताको संख्या ठूलो रहेकाले प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई थप तीव्र बनाउनुपर्ने आवश्यकता देखिएको छ। प्राधिकरण तथा सुरक्षा निकायले सम्भावित स्थानमा खोजी तथा उद्धार कार्य जारी राखेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend