logo सोमबार, भाद्र १५ २०८३ | Monday 31st August 2026

भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजना निरीक्षणमा ऊर्जामन्त्री श्रेष्ठ


  • जन आकाश
  • सोमबार, भाद्र १५ २०८३

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ भोटेकोशी बाढीबाट क्षतिग्रस्त जलविद्युत् आयोजना तथा प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा जाने भएका छन्।



मन्त्री श्रेष्ठको सचिवालयका अनुसार उनी आज नुवाकोट हुँदै रसुवास्थित जलविद्युत् आयोजना क्षेत्रको निरीक्षणमा जाने कार्यक्रम तय भएको छ। मन्त्री श्रेष्ठ स्थलमार्गबाट नुवाकोट पुगेर बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतको अवस्थाबारे जानकारी लिनेछन्।

विद्युत् सेवा पुग्न नसकेका क्षेत्रमा वैकल्पिक ऊर्जाका रूपमा सोलार प्रणालीको व्यवस्थापन तथा तत्कालीन विकल्पबारे पनि उनले सम्बन्धित निकायसँग छलफल गर्ने कार्यक्रम छ। मन्त्री श्रेष्ठ नुवाकोटको त्रिशूलीस्थित बट्टार क्याम्पमा समेत जानेछन्।

त्यसपछि मन्त्री श्रेष्ठ हेलिकप्टरमार्फत रसुवा पुग्नेछन्। त्यहाँ उनले बाढीबाट क्षतिग्रस्त जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रमा भइरहेको खोज तथा उद्धार कार्यको अवस्था, उद्धारका क्रममा देखिएका कठिनाइ तथा आयोजनामा भएको क्षतिको विवरणबारे जानकारी लिनेछन्।

रसुवाबाट फर्किएपछि मन्त्री श्रेष्ठ नुवाकोटस्थित नेपाली सेनाको एकीकृत उद्धार शिविर पुग्ने कार्यक्रम रहेको छ। शिविरमा उनले जारी उद्धार तथा राहत कार्यको प्रगति र प्रभावित नागरिकको अवस्थाबारे जानकारी लिनेछन्।नुवाकोटमै मन्त्री श्रेष्ठले जलविद्युत् आयोजनाको सुरुङमा फसेका कर्मचारीका परिवारसँग भेटघाट गर्ने कार्यक्रमसमेत रहेको सचिवालयले जनाएको छ।

यसै क्रममा मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणका अधिकारी तथा प्राविधिक टोलीसँग छलफल गरी उद्धार, विद्युत् आपूर्ति तथा क्षतिग्रस्त संरचनाको व्यवस्थापनका विषयमा आवश्यक सहजीकरण र निर्देशन दिने सचिवालयले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend