logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

भोटेकोसी बाढीको संकटबारे प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखसँग ब्रिफिङ लिँदै


  • जन आकाश
  • सोमबार, भाद्र १५ २०८३

काठमाडौं । भोटेकोसी बाढीबाट उत्पन्न संकट समाधान तथा खोज, उद्धार र राहत कार्यको अवस्थाबारे प्रधानमन्त्री वालेन्द्र शाहले सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिइरहेका छन्।



सोमबार बिहानैदेखि प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्दै बाढीपछिको अवस्थाबारे जानकारी लिइरहेका हुन्। केहीबेरअघि उनले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग ब्रिफिङ लिएका छन्।

प्रधानसेनापति सिग्देलले हालसम्म भएका खोज तथा उद्धार, राहत वितरण र प्रभावित क्षेत्रको व्यवस्थापनका विषयमा प्रधानमन्त्रीलाई जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री शाहले अब सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग बाढीपछिको सुरक्षा तथा उद्धार अवस्थाबारे ब्रिफिङ लिने तयारी गरेका छन्। त्यसपछि नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग पनि जानकारी लिने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।

भदौ १० गते बिहान भोटेकोसी नदीमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीमा परी हालसम्म ९०३ जनाको मृत्यु भएको तथा अझै ४ हजार २४७ जना सम्पर्कविहीन रहेको विवरण सार्वजनिक गरिएको छ।

बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण र पुनःस्थापनाको काम जारी रहेकाले प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखबाट स्थलगत अवस्थासहितका विवरण लिइरहेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend