logo बुधबार, भाद्र १७ २०८३ | Wednesday 2nd September 2026

मनसुनको न्यून चापीय रेखा नेपालनजिक, आज देशभर वर्षाको सम्भावना


  • जन आकाश
  • सोमबार, भाद्र १५ २०८३

काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तर अर्थात् नेपालनजिक रहेकाले देशभर वर्षाको सम्भावना बढेको छ।



जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो देशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थान तथा मधेस र कोसी प्रदेशका तराई भूभागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

देशका पहाडी भूभागसहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार सोमबार राति कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ।

मधेस प्रदेश तथा कोसी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि मध्यम वर्षाको सम्भावना छ।

राति कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई भूभागका साथै लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोसी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भने धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

काठमाडौंमा अपराह्नपछि वर्षाको सम्भावना

काठमाडौं उपत्यकामा समेत सोमबार वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार काठमाडौं उपत्यकामा विशेषगरी दिउँसो १–२ बजेपछि वर्षाको सम्भावना बढ्ने देखिएको छ। उनका अनुसार दिउँसोको तुलनामा राति वर्षाको सम्भावना अझ बढी छ।

मनसुनको न्यून चापीय रेखा नेपालनजिक रहेकाले आगामी केही समय वर्षाको गतिविधि बढ्न सक्ने देखिएको छ। भारी तथा धेरै भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन मौसम महाशाखाले आग्रह गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend