जन आकाश
काठमाडौं । नवलपरासी पश्चिमस्थित नारायणी नदीमा हालसम्म फेला परेका १७० शवमध्ये चार जनाको मात्र सनाखत भएको छ। सनाखत भएका शव आफन्त तथा परिवारको जिम्मा लगाइएको छ भने ६८ शवको डीएनए नमुना संकलन गरी सुरक्षित रूपमा जमिनमुनि व्यवस्थापन गरिएको जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिमले जनाएको छ।
प्रशासनका अनुसार अझै ९८ शवको पहिचान तथा व्यवस्थापन गर्न बाँकी छ। शव व्यवस्थापनका लागि सुनवल नगरपालिकास्थित एक सामुदायिक वन क्षेत्रमा सुरक्षित स्थानको व्यवस्था गरिएको छ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शव व्यवस्थापनस्थलको निरीक्षण गर्दै शव पहिचानका लागि अपनाइएको प्रक्रिया, शवको सुरक्षा तथा आफन्तसँगको समन्वय र सहजीकरणका विषयमा जानकारी लिएका छन्।
नारायणी नदी तथा आसपासका क्षेत्रमा फेला परेका शवमध्ये सनाखत भएका व्यक्तिहरूमा गोरखाको पालुङटार नगरपालिका–७ की २८ वर्षीया सोमी कुमाल, धादिङको गजुरी गाउँपालिका–६ मिलानटारका ३५ वर्षीय प्रकाश ग्यामी मगर, काभ्रेको रोसी गाउँपालिका–९ घर भई नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारमा होटल तथा किराना पसल सञ्चालन गर्दै आएका ३८ वर्षीय संखबुद्ध तामाङ र मकवानपुरको भीमफेदी गाउँपालिका–२ का २८ वर्षीय सविन राना रहेका छन्।
त्यसैगरी, अर्घाखाँचीको पाणिनी गाउँपालिका–७ का ४५ वर्षीय नारायणबहादुर थापा कब्दारको शव रसुवामा फेला परेको थियो। शवको पहिचान भएपछि आफन्तले पोखराबाट बुझेर लगेका छन्।
पाल्पाको तानसेन नगरपालिका–१० सुनडाँडाका प्रहरी सहायक हवलदार दीपेन्द्र विष्टको शव पनि रसुवामा फेला परी सनाखत भएको प्रशासनले जनाएको छ। उनको शव आफन्तले बुझेर सद्गद गरेका छन्।
नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–१ का ३७ वर्षीय यादव भण्डारीको शव पूर्वी नवलपरासीमा फेला परेको थियो। त्यसैगरी, बाँकेको कोहलपुर नगरपालिका–११ का २३ वर्षीय कबिरलाल चौधरीको शव पनि पूर्वी नवलपरासीमा फेला परेको र उनका दाजु सुग्रीव थारूले सनाखत गरी बुझेका छन्।
पूर्वी नवलपरासीमै फेला परेको बाँकेको कोहलपुर नगरपालिका–११ का २८ वर्षीय महेश थारूको शव उनका ससुरा कालीराम थारूले सनाखत गरी बुझेको विवरणमा उल्लेख छ। प्रशासनले पहिचान हुन बाँकी शवको डीएनए परीक्षण तथा अन्य प्रक्रियामार्फत पहिचानको काम अघि बढाइरहेको जनाएको छ। आफन्तबाट प्राप्त विवरण र डीएनए परीक्षणलाई आधार बनाएर शव पहिचान तथा परिवारलाई जिम्मा लगाउने प्रक्रिया जारी रहेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend