logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

काठमाडौँमा ल्याइएका ११४ मध्ये १३ शव सनाखत, गोकर्णको जङ्गलमा ४६ वटाको व्यवस्थापन


  • जन आकाश
  • मंगलबार, भाद्र १६ २०८३

काठमाडौं । विपद् प्रभावित जिल्लाबाट पोस्टमार्टमका लागि काठमाडौं ल्याइएका ११४ शवमध्ये हालसम्म १३ जनाको मात्रै पहिचान खुलेको छ।



भोटेकोशी बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङबाट त्रिवि शिक्षण अस्पतालमा ११४ वटा शव ल्याइएको थियो। तीमध्ये १२ शवको सनाखत भएपछि परिवारले बुझेर दाहसंस्कार गरिसकेका छन् भने एक शव बुझाउने प्रक्रियामा रहेको काठमाडौंका एसएसपी दिलीप घिमिरेले बताएका छन्।

पहिचान खुल्न नसकेका ४६ शवलाई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७ स्थित दक्षिणढोका जंगलमा सुरक्षित रूपमा गाडेर व्यवस्थापन गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका एक अधिकृतले जानकारी दिएका छन्।

स्थानीय प्रशासनले सोमबार निर्णय गरी पहिचान हुन नसकेका शवलाई उक्त क्षेत्रमा व्यवस्थापन गरेको हो। शव गाड्नुअघि प्रत्येक शव तथा फेला परेका टुक्राटाक्रीबाट डीएनए नमुना संकलन गरिएको छ।

त्यसैगरी, पहिचानमा सहयोग पुग्ने गरी फिंगरप्रिन्ट र प्रत्येक शवका पाँचवटा फोटोसमेत सुरक्षित राखिएको प्रशासनले जनाएको छ।

पहिचान हुन बाँकी शवको विवरण, डीएनए नमुना तथा अन्य प्रमाण सुरक्षित राखिएकाले आगामी दिनमा आफन्तबाट प्राप्त विवरण र परीक्षणका आधारमा सनाखत गर्ने प्रक्रिया अघि बढाइने जनाइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend