जन आकाश
काठमाडौं । भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रतिनिधि सभाले विशेष प्रस्ताव पारित गर्ने भएको छ।
विशेष प्रस्ताव पारित गर्न प्रतिनिधि सभाको बैठक बुधबार दिउँसो १ बजेका लागि बोलाइएको छ। बैठकमा सांसदहरूले भोटेकोशी बाढीबाट भएको जनधनको क्षति, उद्धार तथा राहतका कामबारे धारणा राख्नेछन्।
प्रतिनिधि सभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा विशेष प्रस्ताव पारित गर्ने सहमति भएको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।
यसअघि २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि वैशाख २४ गते बसेको प्रतिनिधि सभा बैठकले विशेष शोक प्रस्ताव पारित गरेको थियो।
कार्यव्यवस्था समितिको बैठकमा नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले बाढी प्रभावित क्षेत्रको अनुगमन तथा सरकारका कामकारबाहीको मूल्याङ्कन गर्न विशेष संसदीय समिति गठन गर्नुपर्ने धारणा राखेका थिए। यद्यपि, समिति गठनबारे बैठकले कुनै निर्णय गरेन।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्रीसमेत रहेका सांसद विपिनकुमार आचार्यले सर्वदलीय बैठकपछि समिति गठनका विषयमा थप छलफल गर्न प्रस्ताव गरेका थिए।
यसैबीच, बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाको कामलाई प्रभावकारी बनाउन उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने विषयमा समेत छलफल भइरहेको छ।
बैठकमा सांसदहरूको तलबबाट कति रकम प्रधानमन्त्री राहत तथा उद्धार कोषमा जम्मा गर्ने भन्ने विषयमा पनि छलफल भएको थियो।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफ्नो संसदीय दलले कम्तीमा १५ दिनको तलब बराबरको रकम सहयोग गर्ने निर्णय गरिसकेको जानकारी गराएको थियो।
नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले आफ्नो दल पनि सहयोगका विषयमा निर्णय गर्ने चरणमा रहेको भन्दै दलीय आधारमा नै निर्णय गर्नु उपयुक्त हुने धारणा राखेका थिए। त्यसपछि सांसदहरूको तलबबाट राहत कोषमा सहयोग गर्ने विषयमा दलीय आधारमै निर्णय गर्ने सहमति भएको जनाइएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend