जन आकाश
काठमाडौं । बाढी आएको सातौँ दिनसम्म पनि सुरुङमा फसेका तथा सम्पर्कविहीन कर्मचारी र कामदारको अवस्था पत्ता लाग्न नसकेपछि सरकारले सम्बन्धित जलविद्युत् आयोजना प्रवर्द्धक तथा निर्माण कम्पनीलाई समेत खोज तथा उद्धारमा प्रत्यक्ष रूपमा परिचालन गर्ने निर्णय गरेको छ।
यसअघि सरकारले जलविद्युत् आयोजनामा फसेका तथा सम्पर्कविहीन व्यक्तिको खोज तथा उद्धारका लागि एकद्वार प्रणालीबाट काम भइरहेको भन्दै नेपाली सेनाको नेतृत्वमा उद्धार प्रयास अघि बढाएको थियो। तर, सात दिनसम्मको प्रयासमा अपेक्षित सफलता हासिल हुन नसकेपछि सम्बन्धित आयोजनाका कम्पनीलाई प्राविधिक जनशक्ति र आवश्यक उपकरणसहित उद्धारमा सहभागी हुन अनुमति दिइएको हो।
सरकारबाट अनुमति पाएसँगै विभिन्न जलविद्युत् आयोजना प्रवर्द्धक तथा निर्माण कम्पनीले आवश्यक प्राविधिक जनशक्ति, उपकरण तथा सामग्री जुटाउन थालेका छन्। अब सरकारी संयन्त्रसँग समन्वय गरी आयोजनाका आफ्नै प्राविधिक टोलीले खोज तथा उद्धारमा सहयोग गर्ने भएका छन्।
लाङटाङ जलविद्युत् आयोजनाले बाढी र पहिरोले क्षति पुर्याएको आयोजनास्थलमा आफ्नै प्राविधिक टोली तथा आवश्यक उपकरणसहित जाने तयारी थालेको छ।
आयोजना प्रवर्द्धक विजयमान भट्टराईका अनुसार सरकारले आयोजनाको प्राविधिक टोलीलाई उद्धार तथा खोजी कार्यमा संलग्न गराउने बाटो खुला गरेको छ।
उनका अनुसार नेपाली सेनाको टोलीले आयोजनाको सुरुङभित्र करिब १०० मिटरसम्म पुगेर निरीक्षण गरेपछि थप काम आयोजनाको प्राविधिक टोलीको सहयोगमा अघि बढाउन आग्रह गरेको थियो।
भट्टराईले यसअघि सरकारी संयन्त्रमार्फत मात्र उद्धारको काम भइरहेकाले आयोजनाका प्राविधिक जनशक्तिलाई प्रत्यक्ष रूपमा परिचालन गर्न नसकिएको बताए। अब भने सरकारी संयन्त्र र आयोजनाको प्राविधिक टोलीबीच समन्वय गरेर खोज तथा उद्धार अघि बढाइने उनको भनाइ छ।
आयोजनाले काठमाडौंमा आवश्यक उपकरण तथा सामग्री खरिद र व्यवस्थापन गरिरहेको छ। आवश्यक सामग्री जुटाएपछि प्राविधिक टोली आयोजनास्थलतर्फ जाने तयारीमा रहेको भट्टराईले बताए।
माथिल्लो त्रिशूली–१ निर्माण गरिरहेको नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी (एनडब्लूईडीसी) ले पनि आवश्यक प्राविधिक जनशक्ति र उपकरण व्यवस्थापन थालेको छ।
बाढीपछि आयोजनास्थलमा रहेका केही व्यक्ति सम्पर्कविहीन भएपछि कम्पनीले सुरुदेखि नै आफ्ना प्राविधिक टोली परिचालन गर्न खोजेको थियो। तर, सरकारले एकद्वार प्रणालीअन्तर्गत नेपाली सेनामार्फत उद्धार भइरहेको भन्दै कम्पनीलाई प्रत्यक्ष रूपमा खोज तथा उद्धारमा जान दिएको थिएन।
अब भने आयोजनाहरूले आफ्नै प्राविधिक क्षमता, उपकरण र जनशक्ति प्रयोग गरेर खोज तथा उद्धारमा सहभागी हुन पाउने भएका छन्। यसले सुरुङ तथा भूमिगत संरचनाभित्र फसेका र सम्पर्कविहीन व्यक्तिको खोजी थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।
भदौ १० गते आएको बाढीका कारण रसुवा र नुवाकोटका १२ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ। ती आयोजनामा कार्यरत ८९४ जना कर्मचारी तथा श्रमिक अझै सम्पर्कविहीन रहेको विवरण छ।
रसुवामा एनडब्लूईडीसीले निर्माण गरिरहेको २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ आयोजनामा मात्रै ५७३ जना सम्पर्कविहीन छन्।
त्यस्तै, १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनामा ९३ जना कर्मचारी तथा श्रमिक सम्पर्कविहीन छन्। नेपाली सेनाले आयोजनाको भूमिगत विद्युत् गृहमा खोजतलास गर्दा कोही नभेटिएको जनाएको भए पनि ड्युटीमा रहेका तीन जना कर्मचारी अझै सम्पर्कविहीन रहेको कम्पनीले जनाएको छ।
२० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत् आयोजनाबाट ४१ जना सम्पर्कविहीन छन्।
नुवाकोटस्थित ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा पनि ४२ जना कर्मचारी तथा श्रमिक सम्पर्कविहीन छन्।
माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धारका लागि सोमबार पनि प्रयास जारी राखिएको थियो। उद्धार टोलीले भूमिगत विद्युत् गृहभित्र करिब २४ घण्टा काम गरे पनि फसेकाहरूको उद्धार गर्न सकेन।
सोमबार सुरुङको टनेल पोर्टल सफा गर्ने, पानी हटाउने तथा सुरुङभित्र प्रवेश गर्न सकिने बाटो बनाउने काम गरिएको थियो। सुरुङभित्र पानी भरिएकाले उद्धार कार्य थप चुनौतीपूर्ण बनेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
सोमबार नेपाली सेनाको नेतृत्वमा इन्जिनियर तथा ड्रोन टोली सुरुङभित्र प्रवेश गरी खोजीमा गएको थियो। सात दिनसम्म सरकारी संयन्त्रबाट भएको प्रयासपछि अब आयोजनाका प्राविधिक टोली र उपकरणसमेत परिचालन हुने भएकाले सुरुङमा फसेका तथा सम्पर्कविहीन कर्मचारी र श्रमिकको खोज तथा उद्धार तीव्र हुने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend