जन आकाश
काठमाडौं । नेपाल–भारत सीमामा पर्ने बैतडीको झुलाघाट नाकाबाट हुने आवागमन सहज बनाउन नाका सञ्चालनको समय बढाउने सहमति भएको छ।
दुवै देशका अधिकारीबीच भएको छलफलमा गर्मी समयमा झुलाघाट नाका बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन गर्ने सहमति भएको हो। यस्तै, हिउँदको समयमा भने बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म नाका सञ्चालन गरिनेछ।
बैठकमा सीमा सुरक्षा, अपराध नियन्त्रण, विपद् व्यवस्थापन, पूर्वसूचना आदान–प्रदान, व्यापार सहजीकरण तथा सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकका साझा सरोकारका विषयमा छलफल भएको बैतडीकी प्रमुख जिल्ला अधिकारी मीना अर्यालले जानकारी दिइन्।
बैठकमा झुलाघाटस्थित नेपाल–भारत जोड्ने झोलुङ्गे पुलको मर्मतसम्भारको विषयमा पनि छलफल भएको थियो। चालु आर्थिक वर्षभित्र पुलको मर्मत नेपाल पक्षले गर्ने जानकारी भारतीय अधिकारीलाई गराइएको सीडीओ अर्यालले बताइन्।
यसैगरी, बैतडी, दार्चुला र भारतको पिथौरागढ क्षेत्रमा बाढी, पहिरो तथा अन्य विपद्का घटना हुँदा तत्काल सूचना आदान–प्रदान गर्ने र उद्धार कार्यलाई प्रभावकारी बनाउन दुवै देशका प्रशासन तथा सुरक्षा निकायबीच समन्वय बढाउने सहमति भएको छ।
सीमा क्षेत्रमा हुने आवागमन तथा व्यापारलाई सहज बनाउँदै सुरक्षा र विपद् व्यवस्थापनका क्षेत्रमा दुवै देशबीच समन्वय थप प्रभावकारी बनाउने विषयमा पनि बैठकमा जोड दिइएको थियो।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend